पर्यटन प्रवर्द्धनकालागि सरकारको दश वर्षे नीति

पुस ९, २०७९ | काठमाडौं

सरकारले पर्यटन प्रवद्र्धनका लागि सन् २०२३ देखी सन् २०३२ सम्म नेपाल पर्यटन दशकको नीति अघि सार्दै रणनीति कार्ययोजना तयार पारेको छ । कोभिड महामारी पश्चात् थलिएको पर्यटक व्यवसायलाई फेरि लयमा ल्याउन र पर्यटक क्षेत्रबाट देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन सरकारले पर्यटन दशकको अवधारणा ल्याएको हो ।

सन् २०१९ को अन्त्यबाट देखापरेको कोरोनाको विश्वव्यापी महामारीले नेपालमा पनि अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । नेपालमा कोरोना संक्रमण मत्थर बन्दै जाँदा पर्यटक व्यवसाय तङ्ग्रिदो अवस्थामा छ । पर्यटन व्यवसायमा पछिल्लो समय बाह्य र आन्तरीक पर्यटकको वृद्धिले केही उत्साह जगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटक क्षेत्रलाई पुन: लयमा फर्काउन पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै १० वर्ष अवधारणा अघि सारेको छ ।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक वर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ । त्यस्तै, आगामी १० वर्ष भित्र सो कार्ययोजना मार्फत पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,–हामी एकै वर्षमा १० लाख रोजगारी सिर्जना गर्न चाहान्छौं, हाम्रो देशका युवाहरु लाइन लागेर विदेशी रहेका छन् । तर, हाम्रो सम्रग आर्थिक अवस्था, सामाजीक परिवेशका कारण चाहेर पनि एकै वर्षमा १० लाख रोजगारी सिर्जना गर्न सकिदैन । त्यसलाई १० वर्षै अवधारणा ल्याएरमात्र सम्भव छ, त्यो काम आजैबाट गर्नुपर्छ ।

पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकाल भन्दा पूर्ववत अवस्थामा फर्काउन सबै तहका सरकारवीच समन्वय गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । श्रेष्ठले भन्नुभयो,–यदी वास्तवमा पर्यटनको विकास गर्ने हो भने प्रत्यक प्रदेशमा एक दुई ठाँउमा फोकस गरेर स्थानीय सरकार, प्रदेश सरकार र संघले पनि त्यसलाई केन्द्रित गरेर अगाडि बढाउने हो भने मात्र त्यसले आन्तरीक पर्यटकको पनि विकास गर्छ, वाह्य पर्यटकको पनि विकास गर्छ र वर्षको सबै महिना पर्यटकहरु नेपाल आएर घुम्ने स्थिती बन्छ ।

विश्वव्यापी कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको पृष्ठभूमिमा सरकारले सन् २०२६ र सन् २०३२ लाई भने भ्रमण वर्षको रुपमा मनाउने घोषणा समेत गरेको छ । १० वर्षभित्र नेपालमा हरेक बर्ष ३५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको मन्त्रालयले नेपालका लागि विदेशी राजदूतहरुलाई सहभागी गराएर पर्यटन प्रर्बद्धन गर्ने अभ्याससहितका कार्यक्रम अघि सारेको छ । 


प्रतिक्रिया