अवैध रुपमा १७ अर्ब ८६ करोडको वित्तीय कारोबार, ११ जिल्लाबाट २१ जना पक्राउ

वैशाख १५, २०८२ | काठमाडौं

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । 

११ जिल्लामा एजेन्टका रुपमा रेमिट्यान्स रकम कारोवार गर्दै आएका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार रेमिट्यान्सबाट प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सको नाममा अवैध कारोबारमा संलग्न रहेका व्यक्ति तथा समूहको गैरकानूनी रकमलाई उनीहरुले परिचालन गरेको पाइएको छ । 

आन्तरिक रेमिट्यान्सको नाममा भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायत अवैध कारोवार भएको देखिएको ब्युरोले जनाएको छ । पक्राउ परेका २१ जनाले हालसम्म १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँ बढीको अवैध कारोबार गरेका छन् । 

पक्राउ पर्नेमा धनुषाका ६, सप्तरीका ५, पर्सा र नवलपरासीका ३–३ जना छन् । त्यस्तै मोरङका २ जना छन् भने महोत्तरी र सर्लाहीका १–१ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया