विपद् प्रभावित किसानलाई करिब ५५ लाख बढी क्षतिपूर्ति वितरण

असार ४, २०८० | मकवानपुर

बाग्मती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद्बाट प्रभावित कृषकलाई क्षतिपूर्ति तथा राहत वितरण गरेको छ । विपद्बाट क्षति बेहोरेका किसानलाई लक्षित गरी प्रदेश सरकारले स्थापना गरेको कोषबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलो चरणमा काभ्रेका आठ वटा फर्मलाई क्षतिपूर्ति तथा राहत स्वरुप ५४ लाख ६१ हजार रुपैयाँ उपलब्ध गराएको हो । कोषमा चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँ रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा ५ करोड रुपैयाँ कोषका लागि विनियोजन गरेको छ ।

बीमा नगरी कृषि कार्यमा संलग्न किसानहरुले बेहोरेको क्षतिलाई न्यूनिकरणमा सहयोग गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा प्राप्त निवेदनको आधारमा सो रकम वितरण गरेको कृषि मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार क्षतिपूर्ति तथा राहतका लागि जेठसम्ममा काभ्रेमा ८, चितवनमा १०, मकवानपुरका ८, ललितपुरमा ६, धादिङ, दोलखा, सिन्धुपाल्चोकमा २/२ तथा नुवाकोट र सिन्धुलीमा १/१ वटा निवेदन दर्ता भएका छन् ।


प्रतिक्रिया