लम्पी स्किनले किसानको गोठ रित्तियो, आम्दानीको स्रोत टुट्यो

श्रावण २, २०८० | इलाम

देउमाई नगरपालिका–२ साप्जङका टंक खनाल ठूलो समस्यामा परेका छन् । गाई गोरु र भैंसीमा फैलिएको लम्पी स्किनका कारण गोठ नै रित्तिएपछि उनको नियमित आम्दानीको स्रोत टुटेको छ । रित्तो गोठ हेरेरै विरक्तिएका उनी ऋण खोजेरै भएपनि गाई पाल्ने सोचमा चै छन् । तर, उनलाई तत्काल गाई किन्ने रकम जुटाउन कठिन छ भने फेरि लम्पी स्किन फैलिएर पशु चौपाया गुमाउनु पर्ने हो की भन्ने चिन्ता पनि ।

खनालले गत जेठ ९ गते पहिलो पटक माउ गाई बिरामी भएको थाहा पाए । सुरुमा अररिए (हलचल गर्न कठिन हुनु) को गाई सात दिन जति त्यतिकै उभिएको थियो । खट्टा सुन्निएको ७ दिनपछि मरेको थियो । लगत्तै त्यसको बाछालाई पनि रोगले भेट्यो र मर्‍यो । ‘अर्को माघमा व्याएको माउ गाई थियो, त्यसमा पनि रोग सर्‍यो र उसै गरी मर्‍यो,’ उनले भने, ‘२ माउ दुहुना गाई र तीन वटा बाछाबाछी मरेपछि गोठ नै रित्तियो ।’

दैनिक १५ लिटर दूध बिक्री गरेर घर व्यवहार थेग्दै आएका उनलाई अब के गर्ने भन्ने चिन्ता छ । सामान्य खेती किसानी गर्ने उनको परिवारका छ जना सदस्यको मुख्य पेशा नै पशुपालन हो । पशु चोपाया मरेपछि एकै पटक १ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

छिमेकी हेमलाल ढकालको पनि दुहुदै गरेको माउ गाई मर्‍यो । दैनिक १२ लिटर दूध दिने गाई मरेपछि उनको पनि नियमित आम्दानीको स्रोत बन्द भएको छ । भकाभाक पशु मर्दा पनि उनीहरुले रोकथामको कुनै माध्यम भेटेनन् । कृषकको मुख्य आम्दानीको स्रोतमा क्षति भइरहँदा पनि कोशी प्रदेश र केन्द्र सरकार मूकदर्शक देखिएका छन् । जनस्तरको तीब्र दबाबपछि स्थानीय तहहरुले भने ढिलो गरी भए पनि खोपको जोहो गर्दा क्षति केही कम भएको हो ।

ठूलो क्षति ब्यहोरेका कृषकहरुले राहत र सहुलियत ऋणको आशा गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक रोहित महतका अनुसार केन्द्र सरकारले पछिल्लो समय इलाम र झापाका लागि ४ सय डोज मात्र खोप पठाएको छ । त्यो पनि वितरण हुन सकेको छैन । 

महतले भन्नुभयो, ‘माग अनुसार यो धेरै कम छ ।’ २०७९ को अन्त्यतिर जिल्लामा देखिएको लम्पी स्किनका कारण कृषकले अकल्पनीय क्षति व्यहोरेका छन् । दूध उत्पादनमा अग्रणी जिल्लाका कतिपय कृषकको गरिखाने माध्यम नै टुटेको छ । समयमा नै खोप पाएका कृषकले भने कम क्षति ब्यहोरेका छन् । 

‘अहिले प्रकोप केही घटेपछि दूध उत्पादनमा सुधार आएको छ,’ दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेलले भन्नुभयो, ‘तर गाई पालनलाई नै आम्दानीको मुख्य आधार बनाएका कृषकको क्षति ठूलो छ ।’ पछिल्लो तथ्यांक अनुसार इलाममा मात्र ३१ हजार ३ सय ५० संक्रमित भएकोमा १ हजार ३ सय ८२ पशु मरेका छन् । जिल्लामा पालिका आफैले खरिद गरेर २२ हजार ५ सय १८ पशुलाई खोप लगाइएको छ । 


प्रतिक्रिया