चितवन राइनोजमा रवि बोपारा र सोहेल तनभिर अनुबन्धित

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०८२ | काठमाडौं

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि रवि बोपारा र सोहेल तनभिरलाई भित्र्याएको छ । चितवनले आज सौराहामा ट्रफी टुर कार्यक्रमका बीच विदेशी खेलाडी सार्वजनिक गर्दै दुवै खेलाडीले यो संस्करणमा पनि खेल्ने जानकारी गराएको हो । ४० वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १ सय २० ओडिआई र ३८ टी–२० आई खेल खेलेका छन् ।

 दायाँहाते ब्याटर उनले आफ्नो करियरमा ४ सय ९४ टी–२० खेलमा ९ हजार ९ सय ४८ रन बनाएका छन् भने २ सय ९२ विकेट लिएका छन् । बोपारा गत सिजनको एनपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

 यस्तै, ४० वर्षीय तनभिरले पाकिस्तानका लागि ५७ वटा टी–२० म्याचमा ५४ विकेट लिएका छन् । तनभिरले सबैखाले टी–२० मा ३ सय ८८ खेल खेल्दा ३ सय ८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७ सय भन्दा धेरै रन बनाएका छन् । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।


प्रतिक्रिया