प्रधानमन्त्री कार्की र जेन–जी घाइतेबीच छलफल

कार्तिक ४, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेहरुले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् ।
भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको छ ।
छलफलमा प्रधानमन्त्री कार्की,गृहमन्त्री ओमप्रकाश अर्याल,ऊर्जामन्त्री कुलमान घिसिङ,शिक्षामन्त्री महावीर पुन,सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए।