दूधको उत्पादन बढ्यो तर बजार बढेन

आश्विन १५, २०८० | काठमाडौं

सरकारले विगत तीन महिनादेखि दूधको भुक्तानी नदिँदा कोशी प्रदेशका किसान समस्यामा परेका छन् । प्रदेशका विभिन्न जिल्लाका किसानहरुले मोरङको विराटनगरस्थित दुग्ध वितरण आयोजनालाई गत असारदेखि उधारोमा दूध बिक्री गर्दै आएका छन् ।

दुग्ध वितरण आयोजना र निजी डेरीलाई दूध बेच्दै आएकोमा कसैले पनि समयमा भुक्तानी नदिएको किसानहरुको गुनासो छ । विराटनगर दुध वितरण आयोजनाले किसानको १६ करोड भुक्तानी गर्न बाँकी छ । उधारोमा दूध बिक्री गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न किसानहरुले सरकारसँग माग समेत गरेका छन् । दुग्ध वितरण आयोजनाका प्रमुख प्रमेश्वर चौधरीले बैशाखदेखि भदौसम्म दूधको सुख्खा सिजन मान्ने गरिएकोमा यस वर्ष सोही समयमा उत्पादन बढेकोले भुक्तानीमा समस्या भएको बताउनुभयो ।

दूधको उत्पादन वृद्धि हुँदा खुशी हुनुपर्नेमा अहिले त्यो समस्याको रुपमा देखिएको उहाँको भनाई छ । आयोजनाको पाउडर, मख्खन र घ्यू बिक्री नभएर थन्किएकोले किसानलाई भुक्तानी दिन नसकिएको चौधरीले बताउनुभयो । आयोजनाको तथ्यांक अनुसार गत वर्षको साउन र भदौमा ७ लाख २० हजार ७३७ लिटर दूध संकलन भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा १३ लाख ६१ हजार ९३६ लिटर दूध संकलन भएको छ । 


प्रतिक्रिया