सातै प्रदेशद्वारा आगामी आर्थिक वर्ष ०८१÷०८२ को बजेट सार्वजनिक, कस्को कती ?

असार १, २०८१ | काठमाडौं

प्रदेश सरकारहरुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायत क्षेत्रलाई प्राथमिकता दिएर नयाँ आर्थिक बर्षका लागि बजेट ल्याएका छन् । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशहरुले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । 

कोशी प्रदेशको बजेट३५ अर्व २७ करोड
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३५ अर्व २७ करोड ९३ लाख बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगरले आज चालु आर्थिक वर्ष २०८० ÷ ८१ बजेट भन्दा करिव एक अर्व कमको बजेट सार्वजनिक गर्नुभएको हो । मन्त्री मगरले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुभएको छ ।

मधेश प्रदेशको बजेट ३१ अर्ब ३४ करोड
 मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ३४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरत प्रसाद शाहले प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १५ अर्ब २२ करोड र पूँजीगततर्फ १६ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । बजेटमा कृषियोग्य भूमिको सदुपयोग, निर्वाहमुखी खेती प्रणालीललाई व्यवसायिक बनाउने, रोजगारी सृजना गर्ने विषय प्राथमिकतामा राखिएको अर्थमन्त्री शाहले बताउनुभयो ।

बागमती प्रदेशको बजेट ६४ अर्व ५४ करोड
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६४ अर्व ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्व १० करोड १६ लाख ८२ हजार र पुँजिगततर्फ ३६ अर्व ९३ करोड ८७ लाख रुपैयाँ बजेट  छुट्याईएको छ । सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिनुभयो । गतबर्ष बागमती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँ को बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । आर्थिक मामिलामन्त्री टकराज गुरूङले आज बजेट सार्वजनिक गर्दै प्रदेशमा दूध, अण्डा ,तथा माछा उत्पादन वृद्धि गर्दै निर्यात प्रवद्र्धनका लागि विभिन्न व्यवस्था गरी त्यसका लागि बजेट विनियोजन गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
यसैबीच, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च र दिगोे आर्थिक वृद्धिसहितको आर्थिक स्थायित्वमा जोड दिइएको छ । त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
त्यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमध्ये पुँजीगत तर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले पेश गरेको बजेटमा मुख्यमन्त्री रोगजार कार्यक्रमका लागि १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले ३ सय ७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक बर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले पेश गरेको बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड र चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा कृषि यान्त्रिकरण, बाली विशेष कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, पशुुपालन तथा मासुु उत्पादन बृद्धिको योजना राखिएका छन् ।  


प्रतिक्रिया