धान दिवसका अवसरमा लमजुङका ४ जना कृषक पुरस्कृत

लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा आयोजना गरिएको राष्ट्रिय धान दिवस कार्यक्रममा नगदसहित सम्मानित भएका कृषक । तस्बिरः आश गुरुङ/ रेडियो कान्तिपुर । 

असार १७, २०८१ | लमजुङ

लमजुङमा ४ जनालाई किसानलाई उत्कृष्टताको आधारमा नगदसहित सम्मान गरिएको छ । सुन्दरबजार नगरपालिका–७, पाउँदीमा शनिबार आयोजना गरिएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवमा कृषकलाई सम्मान गरिएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ बाली विकास अधिकृत सुदिप खतिवडाका अनुसार सुन्दरबजार नगरपालिका–७, पाउँदीका व्यावसायिक गाइपालक कृषक ध्रुवराज पोख्रेल, क्व्होलासोथार गाउँपालिका–८, मपिङका तरकारी कृषक केशकुमारी गुरुङ, मर्स्याङ्दी गाउँपालिका–७, उस्ताबेंसीका बाख्रापालक कृषक डम्बरसिंह गुरुङ र मध्यनेपाल नगरपालिका–६ का व्यावसायिक कृषि फर्म सञ्चालक नन्दलाल लामिछानेलाई सम्मान गरिएको हो । 

कृषकलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङ, स्थानीय आयोजक सुन्दर बीउ उत्पादक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानहरि ढुंगाना लगायतले दोसल्ला ओढाउँदै प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँका दरले सम्मान गर्नु भएको थियो ।

व्यावसायिक रुपमा गाइपालन गर्दै आएका सुन्दरबजारका पोखरेलले पाउँदीमा २०६९ देखि गाई पालेका छन् । करिब १ सय वटा गाई पालन गरेका उनले दैनिक ५ सय लिटर दूध उत्पादन गर्दै आएका छन् । 

डम्बरसिंह गुरुङले २०६३ बाट बाख्रापालन सुरु गरेका थिए । २०७२ बाट बोयर बाख्रापालन सुरु गरेका उनले हाल १ सय बाख्रा पाल्दै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रप्रमुख डा. सुनिल न्यौपानेले बताउनुभयो ।

अर्का कृषक केशकुमारीले ७ वर्षदेखि गोलभेडा खेती गर्दै आएकी छन् । सुरुमा एउटा टनेलबाट गोलभेंडा खेती थालेका उनले हाल २६ वटा टनेलमा गोलभेंडा फलाउँदै आएकी छन् ।

व्यावसायिक कृषिम फर्म सञ्चालन गर्दै आएका नन्दलाल लामिछानेले ७ वटा प्लाष्टिक टनेल र खुल्ला जमीनमा विभिन्न प्रकारका तरकारी खेती गर्दै आएका छन् । २०४४ बाट सुन्ताला खेती थालेका उनले गोलभेंडा, काँक्रो र लहरेबाली फलाएका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिनुभयो । लामिछानेले गाई समेत पाल्दै आएका छन् ।

आर्थिक मामिलामन्त्री गुरुङले कृषिलाई पहिलो प्राथामिकतामा राखे पनि सरकार गठन छोटो समयमा भएकाले कृषिसँग सम्बन्धी केही महत्वपूर्ण कामहरु गर्न नसकिएको बताउनुभयो । हरेक परिवार कृषिमा आत्मनिर्भर मात्रै भएमा पनि मुलुकमा समृद्धि आउने उहाँले बताउनुभयो । ‘अहिले ३ तहको सरकार छ’, उहाँले भननुभयो, ‘सबै सरकारले समन्वय र सहकार्य गर्न आवश्यक छ । अनि मात्रै समृद्धि सम्भव छ ।’


प्रतिक्रिया