कृषि सामग्री कम्पनीको डीएपी मल निरन्तर भित्रिँदै, पाइपलाइनमा थप मल

पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा रेल र्‍याकबाट डीएपी मल अनलोड गरिँदै । फाइल तस्बिर : रेडियो कान्तिपुर । 

असार १८, २०८१ | पर्सा

कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल निरन्तर भित्रिँदै छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र छिमेकी भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ वटा रेल्वे र्‍याकमा आएको ४ हजार ९ सय ६१ दशमलव ९ सय ५० मेट्रिक टन डीएपी मल कम्पनीको प्रादेशिक कार्यालयमा भित्रिएको हो । 

कार्यालयका सूचना अधिकृत पुरुषोत्तम कुमार सिंहले भारतको इन्डियन पोटास लिमिटेड (आइपीएल) ले ग्लोबल टेण्डरबाट २५ हजार मेट्रिक टन डीएपी मल आपूर्तिको ठेक्का पाएकोमा थियो । आइपीएलले साउदी अरेबियाबाछ सो परिमाण बराबरको मल खरिद गरी आपूर्ति गरिरहेको छ । 

असारको पहिलो सातादेखि कम्पनीको गोदाममा मल भित्रिन थालेको र क्रमशः भित्रिने क्रम जारी रहेको सिंहले जानकारी दिनुभयो । कुल २५ हजार मेट्रिक टन डीएपी मध्ये कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयले ९ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले ८ हजार र विराटनगर प्रादेशिक कार्यालयले ७ हजार ५ सय मेट्रिक टन मल पाउनेछन् । 

यसअघि आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको अर्को कन्साइन्मेन्टको २५ हजार टन डीएपी मल सबै भित्रिसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । अब पाइप लाइनमा ‘जीटूजी’ मार्फत २५ हजार टन डीएपी मलको कन्साइन्मेन्ट र आइपीएलको ३० हजार टनको युरिया मलको कन्साइन्मेन्ट रहेको कम्पनीका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार भारत सरकारसँग नेपाल सरकारले सोझै खरिद गरेको २५ हजार टन ‘जीटूजी’ को डीएपी मल कोलकाता बन्दरगाहमा आईसकेको र त्यहाँ नेपाल पठाउनु अघि बोरामा व्यागेजिङको काम भईरहेको छ । 

यस बाहेक ग्लोबल टेण्डरबाट ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको आइपीएलले पनि तेश्रो मुलुकबाट सो मल खरिद गरी कोलकाता बन्दरगाह ल्याइसकेको सिंहले जानकारी दिनुभयो । सो मल पनि कोलकातामा व्यागेजिङको काम भईरहेको र क्रमशः त्यहाँबाट नेपालतर्फ पठाइने उहाँको भनाई छ ।

रोपाइँको सिजनमा डीएपी मलको माग रहेको र कार्यालयसँग अभाव नरहेको सिंहले दाबी गर्नुभयो । कतिपय पालिकाहरुले अझै पनि साबिककै कन्साइन्मेन्टको मल लैजान तदारुकता नदेखाइएकाले ती पालिकाहरुमा मलको अभाव देखिन सक्ने भन्दै त्यसमा कार्यालय दोषी नहुने उहाँले बताउनुभयो । 

कम्पनीको गोदाम रहेको वीरगञ्ज महानगरपालिकाको कार्यालयको निष्कृयताको कारण पुरानै मल सहकारीहरुले लैजान नसकेको र नयाँ मल थपिने क्रम जारी रहेको सिंहले बताउनुभयो । यस बाहेक पर्साको कालिकामाई गाउँपालिकाकाले पनि मल लैजान सकृयता नदेखाएको उहाँको भनाई छ ।


प्रतिक्रिया