धान भित्र्याउन प्रविधि, किसानलाई सहज

धान भित्र्याउँदै कैलालीका किसान । तस्बिरः अर्जुन शाह/ रेडियो कान्तिपुर  

कार्तिक ७, २०८१ | धनगढी

दशैंको चाडबाड सकिएलगत्तै सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका किसानहरु धान भित्र्याउनमा व्यस्त छन् । धान पाकिसके पनि चाडबाडका कारण रोकिएका किसान अहिले धमाधम काटेर भित्र्याउन हतारोमा देखिन्छन् । धान भित्र्याउने र गहुँ तथा दलहन बाली लगाउने सिजन सुरु हुन थालेको अधिकांश किसान खेतबारीमा व्यस्त छन् ।

‘यति बेला त हामीलाई कसैसँग कुरा गर्ने पनि फुर्सद छैन । हाम्रो गाउँका किसान परिवारहरु केहीले धान काट्दैछन्, कतिपय थ्रेसिङ्को तयारी गर्दैछन्, कतिपय थ्रेसिङ गर्दैछन्,’ कैलारी–५ का चरनलाल चौधरीले भने ‘आधाभन्दा बढी किसानहरुले भित्र्याइसके । यसपाली धान राम्रै फलेको छ ।’

कैलारीकै किसान रेमन्त बोहराले पछिल्ला वर्षहरुमा कृषि क्षेत्रमा प्रविधि भित्रिएकाले सजिलो भएको बताए । ‘धानमा पनि पहिलाको जस्तो, हातले काट्ने, हातले चुट्ने, गोरुले दाइँ गर्नुपर्ने अवस्था अहिले छैन,’ बोहराले भने, ‘नयाँ नयाँ मेसिनहरु भित्रिएका छन् । यसपाली त धान काट्ने र चुट्ने मेसिन पनि भित्रियो । धेरै सजिलो भएको छ ।’

खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न सहज भएको छ । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज हुने गरेको बोहराले सुनाए ।

अन्नको भण्डार मानिने कैलाली र कञ्चनपुरमा ६० प्रतिशत धान भित्र्याइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘कैलालीमा ६० प्रतिशत किसानले धान भित्र्याइसके,’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरि पनेरुले भन्नुभयो, ‘एक साताभित्र लगभग सबैले भित्र्याइसक्छन् ।’ प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीका अनुसार कैलालीमा यसवर्ष ६७ हजार ४३६ हेक्टर र कञ्चनपुरमा करीब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

सबै किसानले धान भित्र्याइसकेपछि मात्र यसवर्ष धान उत्पादनको अवस्था पत्ता लाग्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख पनेरुले बताउनुभयो । ‘कैलालीमा धानको उत्पादकत्व ४.१ मेट्रिक टन हो,’ उहाँले भन्नुभयो, ‘हाम्रा प्राविधिकहरु फिल्टमा खटिएका छन् । केही समयपछि धानको उत्पादन परिमाण प्रतिवेदन प्राप्त हुनेछ ।’ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा ६ लाख ३६ हजार ९६८ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसमध्ये ठूलो हिस्सा कैलाली कञ्चनपुरको छ । कैलालीमा तीन लाख २८ हजार र कञ्चनपुरमा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

सुदूरपश्चिममा पछिल्लो दशकमा तराईका जिल्लामा खेतीयोग्य जमिनको खण्डीकरण तीब्र गतिमा बढिरहेको छ । बसाइँसराइको चाप र घडेरी खरिद बिक्री तीब्र छ । बढ्दो बसाइँसराइसँगै कतिपय किसानहरुले आर्थिक अभावका कारण खेतीयोग्य जमिन घडेरीमा बेचबिखन गर्ने क्रम बढ्दै गएकाले खेतीयोग्य जमिन मासिदै गएको हो ।

यस बाहेक कतिपय ठाउँमा सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्नाले पनि खेतीयोग्य जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ । यसरी बढ्दै गएको बसाइँसराइ र खेतीयोग्य जमिनमा भइरहेको भौतिक संरचना निर्माणको प्रत्यक्ष असर खाद्यान्न उत्पादनमा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।


प्रतिक्रिया