वीरगञ्ज नाकाबाट इन्धन आयातबाटै बाहिरियो ८७ अर्ब रुपैयाँ
माघ १२, २०८१ | पर्सा
पर्साको वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्धनको आयातबाटै ८७ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार समीक्षा अवधिमा यो नाका हुँदै डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन र मट्टितेलको आयातबाटै ८७ अर्ब ३२ करोड २३ लाख ९४ हजार रुपैयाँ बाहिरिएको हो ।
गत आवको सोही अवधिको तुलनामा सबै खाले इन्धनको आयात बढ्दा सबैभन्दा बढी डिजेलको आयातबाट स्वदेशी रुपैयाँ बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । समीक्षा अवधिमा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको ४ लाख ७९ हजार किलोलिटर डिजेल आयात भएको छ । गत आवको यसै अवधिमा ४६ अर्ब ३१ करोड रुपैयाँ बराबरको ४ लाख ३९ हजार किलो लिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी चालू आवको ६ महिनामा १८ अर्ब ९७ करोड रुपैयाँ बराबरको २ लाख २० हजार किलोलिटर पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक छ । गत आवको सोही अवधिमा १९ अर्ब ४८ करोड रुपैयाँ बराबरको १ लाख ९५ हजार किलोलिटर पेट्रोल आयात भएको थियो ।
चालू आवको समीक्षा अवधिमा १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको १५ करोड ५१ लाख किलो एलपीजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६८ करोड रुपैयाँ बराबरको १३ करोड ६४ लाख किलो एलपीजी ग्यास आयात भएको थियो ।
चालू आवको समीक्षा अवधिमा ८ अर्ब ९ करोड ७५ लाख रुपैयाँ बराबरको ८९ हजार ३ सय ८० किलोलिटर हवाई इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको ८० हजार ४ सय ७२ किलोलिटर हवाई इन्धन आयात भएको थियो ।
चालू आवको समीक्षा अवधिमा यो नाका हुँदै ३६ करोड २० लाख रुपैयाँ बराबरको ४ हजार २० किलोलिटर मट्टितेल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा ३० करोड ३२ लाख रुपैयाँ बराबरको २ हजार ८ सय २० किलोलिटर मट्टितेल आयात भएको थियो । वीरगञ्ज नाका इन्धन आयात हुने मुलुककै प्रमुख नाका हो ।
पाइपलाइन र ट्यांकर दुबैबाट यो नाका हुँदै इन्धन भित्रिने गर्छ । वीरगञ्ज भन्सारले संकलन गर्ने राजश्वमा इन्धनको आयातबाट संकलन हुने राजश्वकै सर्वाधिक योगदान हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले भन्सारले संकलन गर्ने कूल राजश्वमा इन्धनको ३० देखि ४० प्रतिशतसम्म योगदान हुने बताउनुभयो ।
बर्सेनि दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिदा अन्य वस्तुसँगै इन्धनको आयात पनि बढ्ने प्रवृत्ति रहेको र अन्य महिनामा सामान्य अवस्थामै इन्धन भित्रिने गरेको उहाँले बताउनुभयो । इन्धनको आयात बढ्नुमा सवारी साधनको संख्या पनि बढ्नु र औद्योगिक प्रयोजनमा पनि इन्धनको प्रयोग बढ्दै जानु मुख्य कारण हुन सक्ने तिवारीको भनाई छ ।