सार्वजनिक खरिद ऐन संशोधनको गृहकार्य शुरु

चैत्र ३, २०८१

सरकारले सार्वजनिक खरिद ऐन संशोधनको गृहकार्य शुरु गरेको छ । पूँजीगत खर्च वृद्धिका लागि सो ऐन संसोधनको तयारी भएको अर्थमन्त्री बिष्णु पौडेलको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री पौडेलले सार्वजनिक खरिद ऐन र नियमावलीका केही प्रावधानलाई परिमार्जन गर्न लागिएको बताउनुभएको हो ।

यसैबीच, सरकारले वैदेशिक सहयोग परिचालन सम्बन्धी नीति ल्याउने तयारी गरेको छ । मुलुकको आवश्यकता अनुसार रकमको परिचालन गर्ने गरी नीति ल्याउन लागिएको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले विश्वव्यापी रुपमा देखिएको परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्न सरकार सक्षम रहेको बताउनुभयो । सकारात्मक रुपमा सहयोग गर्दै आएका अन्तराष्ट्रिय समुदायको साथ र सहयोग लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यसैबीच, प्रतिनिधिसभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्वन्धि विधेयक, निजीकरण पहिलो संसोधन विधेयक तथा व्यवसायिक वातावरण सुधार र लगानी प्रवद्र्धनसम्वन्धि विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । 


प्रतिक्रिया