वीरगञ्ज नाकाबाट ८ महिनामा ६४ करोडको छुर्पी निर्यात

चैत्र १२, २०८१ | पर्सा
नेपाली छुर्पीको निर्यात वृद्धि हुँदै गएको छ । नेपालीले स्वादिलो मानेर खाने छुर्पी अमेरिका र अस्ट्रेलियाका कुकुर बिरालोले रुचाएपछि त्यसको निकासी बढेको हो । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको ८ महिनामा छुर्पीको निकासी गत आवको सोही अवधिको तुलनामा डेढ गुणले बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा ६४ करोड रुपैयाँ बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै ४१ करोड रुपैयाँ बराबरको २ लाख २९ हजार ३ सय ४८ किलो छुर्पीं निकासी भएको थियो ।
तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा २३ करोड रुपैया बढीको र परिमाणमा पनि १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निकासी भएको छ । निकासीको बढ्दो दरले नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न सके यसले थप बजार पाउने सम्भावना बढी छ ।
भन्सार बिन्दुबाट छुर्पीको नामले नभई यो वस्तु ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा निकासी हुन्छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले यसवर्ष तुलनात्मक रुपमा यो नाकाबाट छुर्पीको निकासी बढेको बताउनुभयो ।
अमेरिका, अस्टे«लिया जस्ता देशमा घर पालुवा कुकुर बिरालोले रुचाएपछि नेपाली छुर्पीको माग क्रमशः उकालो लागि रहेको उहाँको भनाई छ । ‘कुकुर बिरालो पालकहरुले नेपाली छुर्पीलाई मासुको विकल्पको रुपमा प्रयोग गरी रहेका छन्,’ उहाँले भन्नुभयो, ‘चौपायको हड्डी भन्दा छुर्पी नरम हुने र कुकुर बिरालो पनि स्वादिलो मानेर खाएपछि नेपाली छुर्पीको माग तेश्रो मुलुकबमा बढदै गएको हो ।’
नेपाली छुर्पी निर्यात वृद्धिको ग्राफ हेर्दा यसलाई अन्य मुलुकमा पनि प्रवर्धन गर्न सके यसको निकासी झनै बढन सक्ने सम्भावना रहेको तिवारीले बताउनुभयो ।