प्रतिकूल मौसमपछि हिमाल आरोहण प्रभावित

वैशाख २९, २०८२ | काठमाडौं
पर्यटन विभागले प्रतिकूल मौसमका कारण हिमाल आरोहण प्रभावित भएको जनाएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको विभागका निर्देशक हिमाल गौतमले बताउनुभयो ।
मौसम खराबीका कारण केही दिन सगरमाथा आरोहण नहुने तथा मौसममा सुधार आएपछि पुनः सगरमाथा आरोहण हुने निर्देशक गौतमको भनाई छ । आरोहणको तयारीमा रहेका धेरै आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किदैछन् । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो ।
त्यस्तै यो समयमा सगरमाथासहित २६ हिमाल आरोहणका लागि १ सय १९ आरोही समूहका दुई सय ४० महिला र ८ सय ८७ पुरुष गरी कूल एक हजार १ सय २७ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३ सय ७२ पुरुष गरी कूल ४ सय ५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।