पोखरामा फेवा महोत्सव सञ्चालन

चैत्र ३०, २०८१ | काठमाडौं

पर्यटकीय शहर पोखरामा २० औँ फेवा नव वर्ष महोत्सव–२०८२ आयोजना गरिएको छ ।

होटल संघ पोखराले आयोजना गरेको फेवा महोत्सव पर्सी बैशाख १ गतेसम्म चल्नेछ । फेवा महोत्सव अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित गरी होटलले २० प्रतिशत छुट गर्ने भएका छन् । 

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिनुभयो । 

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने संघले जनाएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । 


प्रतिक्रिया