नतिजाको पर्खाइमा विराटनगरबासी

असार १५, २०७४ | काठमाडौं

 

विराटनगर महानगरपालिकाको मतगणना स्थलको रुपमा चयन गरिएको ऐतिहासिक आदर्श माध्यमिक विद्यालय वरिपरिको क्षेत्रमा आज बिहानदेखि उम्मेद्वार, राजनीतिकर्मी एवं सर्वसाधारणको भिड लागेको छ । परिणाम जान्न इच्छुकहरुले यहाँको चिया पसल र रंगशालाको ओत भरिभराउ छ ।

सबैको मुटुको ढुकढुकी र खुलदुली बढेको छ । परिणाम कसको पक्षमा जाला भन्नेमा संवाद केन्द्रीत देखिन्छ । भित्र मत गणना सुरु भए/नभएको बारेमा जान्नलाई सबैले एक अर्कासँग मोबाइल सम्पर्क गरिरहेका भेटिन्छन् । बिहान ८ बजे देखि सो विद्यालय अघिल्तिर सर्वसाधारण भेला हुन थालेका थिए । गर्मी कम हुँदै गएपछि साँझसम्म  भिडभाड उत्कर्षमा पुग्ने स्पष्ट छ । 

सो क्षेत्रमा निजी एवं सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ । सहर प्रवेशको प्रमुख मार्गको रुपमा रहेको यही क्षेत्रमा रंगशाला र जिल्ला प्रसासन कार्यालय पर्छ । झन्डै ५ लाख ७४ हजार ५ सय मतदाता भएको यो महानगरमा करिब ७० प्रतिशत मतदान भएको छ । 

सबैतिर स्वच्छ एवं निर्वाध ढंगले चुनाव सम्पन्न भएको हुनाले परिणाम जस्तो र जसको पक्षमा आएपनि स्वीकार्नमा कन्जुस्याईँ गर्न नहुनेमा यहाँ सबैको एक मत छ । राजधानीमाझैं ढिलो गरी मत गणना नहोस् भन्ने चाहना स्थानीयले व्यक्त गरिरहेका छन् । एउटा ठूलो विद्यालयकै पठनपाठन अवरुद्ध भइरहेको र दैनिक जनजीवन समेत प्रभावित भइरहेको हुनाले पनि महानगरवासीले यस्तो इच्छा राखेका हुन् ।     

नेपाली र अँग्रेजी माध्यमको ब्लक तथा प्राविधिक विषय समेत गरी कक्षा १२ सम्म झन्डै १ हजार ४ सय विद्यार्थी पढ्ने आदर्श विद्यालय व्यवस्थापन पक्षको पनि यही चाहना छ । सो विद्यालयमा २१ असारदेखि प्रथम त्रैमासिक जाँच सुरु हुने भनिएको छ । 

शैक्षिक क्यालेन्डर प्रभावित नहुने गरी सक्दो चाँडो मत गणना सकाउन अनुरोध गरेको सो विद्यालयका प्राचार्य दुर्गाप्रसाद चूडालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महत्वपूर्ण सरकारी काम भन्दै निर्वाचन कार्यालयले गरेको आग्रहमा क्षेत्रफलमा अलिक ठूलो भएको दक्षिणतिरको नेपाली ब्लक उपलब्ध गराएका छौं,’ । 

अँग्रेजी माध्यममा पढाइ हुने उत्तरतिरको ब्लकमा भने कडा सुरक्षा प्रबन्ध मिलाएर आइतबारदेखि विद्यालय लगाइने चूडालले स्पष्ट पार्नुभयो । विद्यालयले अहिले प्राविधिक शिक्षाको विहानीको कक्षा पनि उत्तरी ब्लकमा नै चलाइरहेको छ ।

‘साता अगाडी गणना सकिएला जस्तो छाँटकाँट छैन,’ उहाँले भन्नुभयो, ‘त्यही भएर दक्षिण ब्लकको नेपाली माध्यममा पढ्नेलाई १५ दिने वर्षे विदा दिने सोच बनाएका छौं ।’ निर्वाचन कार्यालयले विद्यालयका प्राचार्य र शिक्षकहरुलाई समेत मतगणनामा सहयोग गरिदिन आग्रह गरेको छ । रोचक के छ भने काँग्रेसबाट मेयर पदका उम्मेद्वार भिम पराजुली सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।      

 


प्रतिक्रिया