महिलाको तीन रुप

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २३, २०७४ | मोरङ

विराटनगरमा बुधबार महिलाको तीन रुप हेर्न पाइयो । महिलालाई रुपैयाँ, नारीको अनेक चरित्र भएको र बिसङ्गती बिरोधी रुपमा देखियो । यी सबै रुपले महिलालाई सशक्त रुपमा हेर्न पाइयो । समाजमा महिलाको बलियो उपस्थिति देखिएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तीकरणका लागि विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित राष्ट्रिय महिला नाटक महोत्सवमा उक्त रुपहरु देखियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्वारा आयोजित महोत्सवको दोस्रो दिन बुधबार मञ्चन गरिएको तीन वटा एकल महिला नाटकमा तीन रुप देखिएको हो । 

शिल्पी कला समूह काठमाडौंकी रंगकर्मी बंसरी पाण्डेले ‘म रुपैयाँ’ नाटकमा रुपैयाँको भूमिका निर्वाह गरिन् । निर्जीव वस्तु रुपैयाँको उनले कलात्मक र जीवन्त प्रस्तुत गर्न सफल रहिन् । २०१७ नोभेम्बर ९ का दिन भारत सरकारले प्रतिबन्ध लगाएको ५ सय रुपैयाँको नोटले भ्रष्टाचारी, कालो धन, धनी र गरिबको पहिचान नाटकमा गराउन उनी सफल भइन् । रुपैयाँले मानव र मानव समाज कसरी बाँधिएको छ र मूल्यवान रुपैयाँलाई कसरी मानवले मूल्यहिन बनाइदिन्छ र त्यसबाट प्रभावित भएको मानव जीवन सजिव चित्र नाट्कले देखाएको थियो । उक्त नाटकमा घिमिरे युवराजको निर्देशन थियो । सद्घाव थियटर काठमाडौंकी रंगकर्मी ज्योती राईले प्रस्तुत गरेको ‘विसङ्गत’ नाटकमा यहाँका समाजमा महिला भएकै कारण भोगनु परेको पीडाको उजागर गर्न सफल भएको थियो । समाजमा महिलाहरुले भोग्नु परेको पीडाको अनेक रुपमा उनले १९ मिनेटमा प्रदर्शन गरिन् । महिला हिंसामा मुकदर्शक समाज परिवर्तनका लागि पीडित प्रतिनिधि पात्रले निर्वाह गरेको भूमिका सफल देखियो । 

यस्तै, ख्वापकीमी कला संस्था नेपाल, काठमाडौंकी रंगकर्मी उजना सुनुवारले बालबालिकामा आउने शारीरिक परिवर्तनसँगै हुने कठिनाइको कथा वस्तु समेटिएको ‘बरी’ नाटक प्रस्तुत गरिन् ।बालबालिकालामा हुने शारीरिक परिवर्तनले हुने अप्ठयारो र झन मासिक धर्म हुँदा त्यसको बखतको अनभिज्ञताले निम्तियाएको दृष्य यस नाटकमा उनले प्रस्तुत गरिन् । परिवारका सदस्यलाई जानकारी गराउँदा भोग्नु परेको पीडा कलात्मक र जीवन्त रुपमा मन छुने किसिमले उनले प्रस्तुत गरिन् । तीनै जनाको नाटकले दर्शकको मन छुन सफल भएको महोत्सवका सहआयोजक दहेजमुक्त मिथिला र मैथिली सेवा समितिका अध्यक्ष प्रविण नारायण चौधरीले बताए । महोत्सवमा मञ्चन भइरहेको अधिकांश नाटकको लेखन, निर्देशन समेत महिला रंगकर्मीले नै गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभाग प्रमुख रमेश रञ्जन झाले बताए । ‘नेपाली समाजमा महिला रंगकर्मीको सशक्त उपस्थिति यस नाटक महोत्सवले देखियो,’ उनले भने, ‘रंगमञ्चको आकर्षण बढदै गएको अबस्थामा महिला रंगकर्मीहरुको उपस्थितिका लागि यो महोत्सव कोशेढुंगा साबित भएको छ ।’

आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समितिको सहआयोजनामा महोत्सवको अन्तिम दिन बिहीबार सांस्कृतिक संस्थान काठमाडौंकी रंगकर्मी सुशिला थापाले ‘देउकासी’, क्षितिज नाट्य समूह काँकडभिट्टाकी रंगकर्मी सृजना खतिवडाले ‘चिताबाट प्रश्न’ र शिल्पी कला समूह काठमाडौंकी संगीता उराँवले ‘खेतको गङ्गेटो’ नाटक प्रस्तुत गर्ने छिन् । उक्त नाटकहरुमा पनि महिलाको सामाजिक पीडा र यसलाई शक्तिमा परिणत गर्ने सन्देश रहेको छ । महोत्सवको अबसरमा भेला भएका रंगकर्मीहरुबीच बिहानको समयमा कार्यशाला गोष्ठीको समेत आयोजना गरिदै आएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । उनले कार्यशालामा नाटक, दृष्य, रंगमञ्च, साजसज्जा, प्रस्तुति लगायत पक्षको बारेमा अनुभवि रंगकर्मीहरुले प्रशिक्षण समेत दिंदै आएको बताए । 


प्रतिक्रिया