लालाबालाको काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु
कार्तिक १६, २०८२
काठमाडौँ । लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण हुने भएको छ । भोलि सोमबारदेखि सुरु हुने महोत्सवमा नेपाललगायत १२ देशका कलाकार सहभागी हुँदैछन् । महोत्सवको उद्घाटनमा कलाकार, सङ्गीत नाट्य एकेडेमीका पूर्व उपकूलपति हरिहर शर्मा, प्रा.डा.अभि सुवेदी, प्रा.डा.सावित्री कक्षपति, नाट्य निर्देशक एवम् लेखक अशेष मल्ल, रंगकर्मी आकांक्षा कार्की, मञ्जु गिरीलगायतका अतिथिहरुको उपस्थित हुनेछन् ।
महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाईल्याण्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारका नाट्य प्रस्तुति हेर्न पाइनेछ । कलाकारहरुले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ । महोत्सवको आयोजक इम्पेरियल वल्र्ड स्कूल रहेको छ । नाटक सोही विद्यालयको प्रेक्षालयमा हुनेछ ।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ । आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने इच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक चेयरम्यान कुमार थापाले बताउँनुभयो, “विदेशी कलाकारहरु बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ । जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन् ।”
महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सव निर्देशक टंक चौलागाईँले १२ देशका ५० जना कलाकार आ–आफ्ना देशका भेषभूषा लगाएर, झण्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बगैँचाजस्तो देखिने बताउनुभयो । यसपालि महोत्सव भव्य हुनेमा विश्वस्त भएको भन्दै उहाँ भन्नुभयो, “यो वर्ष अप्ठ्यारो समय हो । यही अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौँ ।”
कात्र्तिक १७ गते (सोमबार) देखि हुने महोत्सवमा पहिलो दिन आयोजक स्कूल इम्पेरियल, ब्राजिल र बंगलादेशको प्रस्तुति हुनेछ । मंगलबार जापान, युके÷थाईल्याण्ड, लातभिया, इरानको प्रस्तुति रहनेछ । बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहनेछ । बिहिबार भ्याली भ्यु स्कूल र चेक पिब्लिकको नाटक मञ्चन हुनेछ । शुक्रबार श्रीयन्त्र एजुकेशसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ । नाटक हरेक दिन साढे १० बजे, दिउँसो १ बजे र साँझ ५ बजे मञ्चन हुनेछ ।










