मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित

असार ३०, २०८२ | काठमाडौं
मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ ।
२०८१ सालमा प्रदर्शन भएका फिल्मबाट ९ वटा विधामा प्रदान गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा शाम्बला उत्कृष्ट ठहरिएको हो । सो फिल्मका निर्देशक भामले नै ‘उत्कृष्ट निर्देशक’को पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, ‘खुस्मा’ फिल्मबाट उपासनासिंह ठकुरी उत्कृष्ट अभिनेत्री र उत्कृष्ट अभिनेताको सम्मान विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’बाट प्राप्त गरे । ‘छक्का पञ्जा ५’बाट कलाकार दीपकराज गिरीले उत्कृष्ट लेखन÷पटकथाको सम्मान पाएका छन् ।
छायाँकार पुरुषोत्तम प्रधानले ‘पिताम्बर’बाट उत्कृष्ट छायांकनको सम्मान पाउँदा भरत रेग्मीले ‘पुजार सार्की’बाट उत्कृष्ट सम्पादनको सम्मान पाएको चलचित्र विकास बोर्डले जनाएको छ । त्यस्तै, उत्कृष्ट आदिवासी जनजाति फिल्मको सम्मान नेवारी भाषाको ‘गाले वन’ले जितेको छ । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की’बाट निर्णाय समितिले प्रदान गरेको ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ जिते । राष्ट्रपति भवनमा आयोजित समारोहबीच कलाकर्मीलाई सम्मान गरिएको हो ।
यसैबीच चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घसाधना सम्मान अर्थात् लाइफटाइम अचिभमेन्टबाट सम्मान गरिएको छ । थुप्रै फिल्म तथा पुस्तक लेखिसकेका शर्मालाई यो क्षेत्रप्रतिको निरन्तरको योगदानका लागि नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । ‘मनको बाँध’बाट सहायक निर्देशन हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका शर्माले ‘भाइटीका’, ‘बरपिपल’, ‘साथी’लगायत थुप्रै फिल्म निर्देशन गर्नुभएको छ ।