अस्ट्रेलियामा तीजको रौनक

भाद्र ५, २०७६ | अस्ट्रेलिया

महिलाहरुको चाड तीज आउनुभन्दा एक महिनाअघि देखि नै अस्ट्रेलियामा रौनक छाइसकेको छ । अहिलेसम्म यहाँका बिभिन्न शहरहरुमा दर्जनबढी तीजका कार्यक्रमहरु भइसकेका छन भने अन्य दर्जनौ कार्यक्रम तयारीमा छन् । अस्ट्रेलियामा तीज मनाउनका लागि मात्र करिब १ दर्जन कलाकारहरु आइसकेका छन भने अन्य एक दर्जन बढी आऊने क्रममा छन् । 

यसबर्ष सिड्नीमा मात्र ३२ वटा तीजका कार्यत्रमहरु आयोजना हुदैछन् । यसका साथै मेलबर्न, ब्रिसबन, एडिलेड लगायतका शहरहरुमा समेत सातैपिच्छेजसो तीजका कार्यक्रमहरु आयोजना गरिएका छन् ।

अहिले बिभिन्न शहरहरुमा आयोजना भइरहेको तीज कार्यक्रममा प्रस्तुती दिनकै लागि नेपालबाट कलाकारहरु कुलेन्द्र बिक, सन्दीप न्यौपाने, चन्दा अर्याल, टीका प्रसाई, सुनीता दुलाल, राजाराजेन्द्र पोखरेल, अञ्जली अधिकारी लगायतका दर्जन बढी आइसकेका छन् । ‘पछिल्लो समयमा तीज विदेशमा रहेका महिलाहरुलाई गीतसंगीत मार्फत मनोरञ्जन दिलाइने अवसरको रुपमा बिकसित भइरहेको छ ।’

केही दिनअघि माक्र आधा दर्जन कलाकारलाई यहाँ बोलाएर तीज कार्यत्रम सम्पन्न गरेका बिष्णु सापकोटा भन्छन् । 

१ लाख २० हजार बढी नेपालीहरु रहेको अस्ट्रेलियामा यसबर्ष अन्य बर्षहरुको तुलनामा दोब्बर संख्यामा तीज कार्यक्रम भएको कार्यक्रम आयोजकहरु नै बताउँछन् । तीजमा रातो साडी, चुरा पोते लगाएर नेपालबाट आएका कलाकारहरुसँगै गीतमा रमाउने वातावरण बनाइदिने मात्र नभएर अधिकांश स्थानमा सहभागीहरुलाई दर स्वरुप सेलरोटी अचार समेत खुवाइएको थियो ।

तीजमा रमाइरहेकी काठमाडौकी सोनु न्यौपाने बर्षभरि विदेशमा ब्यस्त हुने नारीहरुलाई तीजले एकदिन भएपनि रमाइलो गर्ने वहाना दिने गरेको सुनाउँछिन् । ‘त्यसमा पनि नेपालका कलाकारहरु र आफ्ना साथीहरुसँग तीज मनाउन पाउनुको मज्जा नै अलग्गै हुन्छ ।’

यसबर्ष अस्ट्रेलियामा नारी निकुञ्ज, नेपाली पाठशाला लगायतका सामाजिक संस्थाहरुमात्र नभएर बिभिन्न ब्यवसायिक संस्थाहरुले समेत तीजको आयोजना गरिरहेका छन् । नेपालीहरुको यस्तै चाडपर्वको बहानामा अस्ट्रेलिया घुम्ने, आम्दानी गर्ने र यहाँका आफ्ना दर्शकस्रोताहरुलाई भेट्ने वहाना समेत कलाकारहरुले प्रशस्त पाइरहेका छन् । यसबर्षको तीज कार्यक्रममा अस्ट्रेलियामा पुरानादेखि नयाँ कलाकारहरुको ताँती नै लागेको छ ।

कलाकार अञ्जु पन्त, नायिका आँचल शर्मा, प्रकाश सपुत, प्रिती आले, बद्री पंगेनी लगायतका कलाकारहरु आउा बाँकी नै छ । 
 


प्रतिक्रिया