पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान २०७५ घोषणा 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ११, २०७६ | काठमाडौं

-  यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वर्ष २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिने भएको छ । छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई प्रदान गरिने भएको छ ।  प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने जानकारी दिनुभयो ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । 

वि.स. २०६३ सालमा स्थापना गरिएको दुई लाख रुपैँया राशीको पद्मश्री साहित्य पुरस्कारसम्मान वर्षभरि प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्टे एक पुस्तकलाई प्रदान गरिन्छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना प्रदान गर्ने गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो । यी दुवै सम्मान तथा पुरस्कार आगामी असोजमा कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने छ । 


प्रतिक्रिया