व्यापारीको घेरावन्दीमा अनुगमन टोली

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७६ | काठमाडौं

- काठमाडौंको नयाँ बसपार्कस्थित बीजी मलमा अनुगमन गर्न पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई असहयोग गर्ने ४ वटा पसलको कारोबार रोक्का गरिएको छ ।

गोंगबूस्थित मलमा आज अनुगमन गर्न पुगेको सरकारी टोलीलाई घेराबन्दी गरेर असहयोग गर्दै व्यापारीहरुले पसल बन्द गरी अवरोध सिर्जना गर्न खोजेका थिए ।

विभागको टोलीले ती पसलमा २४ घन्टे पूर्जी टाँसेर २० हजार जरिवाना सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । २४ घन्टाभित्र विभागमा उपस्थित नभए पसलहरुमा शिलबन्दी गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

सो पछि विभागले बिजी मलका अन्य पसलहरुमा अनुगमन गरेको थियो । सो मलको पहिलो तलामा अनुमगन गरी विभागको टोलीले एक व्यापारीलाई कारबाही थालेपछि माथिल्ला तलाका व्यापारीहरु सटर बन्द गरी नाराबाजी र अनुगमन टोलीलाई घेराउ गर्न पुगेका थिए । चाडपर्वमा व्यापारीहरुले ठगी गरिरहेको भन्दै सरकारले अनुमगन कर्मचारी खटाएको हो । 

 


प्रतिक्रिया