वार्षिकोत्सवमा नमस्ते व्यान्डको सहयोग, जापानमा कन्सर्ट गर्ने

फाल्गुन २३, २०७७ | पोखरा

चर्चित नमस्ते सांगीतिक ब्याण्डले आफ्नो ३२ औं वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधिन विश्वकै अग्लो शिव मूर्ति (शिवलिंग) का लागि आर्थिक सहयोग गरेको छ । 

सो ब्यान्डले एउटा शिवलिंग निर्माणका लागि लाग्ने खर्च २ लाख २५ हजार रुपैयाँ पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराललाई हस्तान्तरण गरेको हो । ब्याण्डका प्रबन्ध निर्देशक ईश्वर गुरुङकी आमा गुप्तीकुमारी, ब्याण्ड प्रबन्धक शिवजी भट्टराई लगायतले सो सहयोग हस्तान्तरण गरेका हुन् । भविष्यमा पनि सहयोग गरिने भट्टराईले बताउनुभयो ।

जापानको टोकियोमा गुन्जदै नमस्ते

यसैबीच नमस्ते ब्याण्डले ३२ औं वार्षिकोत्सव जापानको राजधानी टोकियोमा लाइभ कन्सर्ट गरी मनाउने भएको छ । आगामी चैत १ मा तेस्रो संस्करणको महाशिवरात्री वल्र्ड म्यूजिक फेस्टीबल २०२१ ईन् टोकियो टाईटलको साथमा मनाउन लागिएको प्रबन्ध निर्देशक गुरुङले बताउनुभयो । 

कार्यक्रममा नमस्ते, जापानको चर्चित पिस ज्वाईन्ट (पिजे) लगायत व्यान्ड र विभिन्न कलाकारले सांगीतिक प्रस्तुति गर्नेछन् । सन् ८० को दशकमा जाउँ हैं पोखरा, शान्ति शान्ति, चरि मर्‍यो शिशैको गोलीले जस्ता गीतले अन्तर्राष्ट्रियस्तरमा नेपाली संगीत चिनाउन नमस्तेले उल्लेखनीय योगदान गरेको थियो । 

साथै भिजिट नेपाल १९९८ मा सगरमाथाको आधार शिविर कालापत्थरमा विश्वकै अग्लो ठाउँमा पिस कन्सर्ट गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएको थियो । पर्यटन वर्ष १९९८ मा ३० दिनमा २९ प्रमुख शहरमा मेची–महाकाली संगीत यात्रा पनि नमस्तेले सम्पन्न गरेको थियो ।


प्रतिक्रिया