सुपरडान्सर नेपाल कान्तिपुर टेलिभिजन एचडीबाट प्रसारण हुँदै

भाद्र १३, २०७९

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुँदै हाल ग्राण्ड प्रिमियरको तयारी भईरहेको सुपरडान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक एबं बालबालिका लक्षित शो सुपरडान्सरको आधिकारिक नेपाली भर्सन हो । अडिसन अनि मेगा अडिसनका एपिसोडहरु प्रसारणमा आएसंगै यो शोको चर्चा चुलिएको छ । जसबाट अन्य शोहरु देशमा नचलिरहेको तथा लकडाउनपछि ठप्प् झैं रहेको मनोरन्जन क्षेत्रमा नयाँ आशा समेत पलाएको छ । रियलमी प्रिजेंट्स सुपरडान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई समेत भनेर चिनिएका गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदैछन् । उनीसंगै उनकी श्रीमती नेपाली चेली सुनिता समेत शोमा देखिदैछिन् । बलिउडका सुपरस्टार अभिनेता गोबिन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित छन् । उनका थुप्रै सिनेमा सफल त छ नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारण समेत उनी सबैमाझ चर्चित छन् । 

यसैबीच सुपरडान्सर नेपालमा आबद्ध विभिन्न ब्राण्डसंग सम्बन्धित अधिकारीहरु र गोबिन्दा दम्पतीबीच छलफल र आगामी कार्यक्रमबारे योजना सम्बधी मिट एण्ड ग्रिट विथ गोबिन्दा कार्यक्रमको आयोजना गरिएको छ । काठमाण्डौंमा आज आयोजित सो मिट एण्ड ग्रिट समारोहमा सुपरडान्सर नेपालको अहिलेसम्मको प्रगति अनि शोलाई अझै उत्कृष्ट बनाउने विषयमा समेत छलफल भएको अयोजक संस्था एडीरिलिजले जनाएको छ । शो उत्पादनका क्रममा गुणस्तरीय कार्यक्रम निर्माणमा कुनै कसुर बाँकी नराख्ने समेत एडीरिलिजले प्रतिबद्धता जनाएको छ । शो उत्कृष्ट बनाउन यसको प्रस्तुती, कोरियोग्राफी, जजमेन्ट तथा अन्य प्राविधिक पाटोमा समेत कुनै सम्झौता नगरिएको आयोजकको दावी छ । उता गोबिन्दा दम्पतीले समेत आफुहरु शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली शोमा आफुहरुको उपस्थिती रहने प्रतिबद्ध रहेको जनाए । नेपाली चेली र ज्वाईको उपमा पाउँदा आफुहरुलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफुहरु पक्कै आउने समेत उनीहरुले बताए ।

कार्यक्रममा सुपरडान्सर नेपालका प्रायोजक ब्राण्डहरु रियलमी नेपालका कन्ट्रीहेड मुनिष गिरी, डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य , जग दम्बामोटर्सका सीईओ दिपक अग्रवाल, डाबर नेपालका हेड अफ मार्केटिंग अभय गोर्खाली, सुर्य नेपालका असिस्टेन्ट म्यानेजर नबिन सरोज लगायतका बिशिष्ठ अतिथिहरुको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एडीरिलिजका अध्यक्ष हरिशरण सुवेदीले टेलिभिजन उद्योगमा रियालिटी शो तथा विश्वस्तरीय खेलकुदका कार्यक्रमहरुको बर्गीकरण मार्फत स्वदेशी तथा विदेशी ब्राण्डलाई कर्पोरेट उचाई दिनपर्ने समय नजीकिएकाले अब ब्राण्ड वा कम्पनीको उत्पादन अनि सेवा प्रबर्द्गन गर्दा व्यक्तिगत हित मात्र हेर्न नहुने सुझाउनुभयो । सुपरडान्सर नेपालको यसै हप्ता प्रशारण हुने ग्राण्ड प्रिमियर एपिसोडका लागि गोबिन्दा र सुनिता यतिबेला नेपालमा छन् । शोको शुटिंग पश्चात उनीहरु भारत फर्किनेछन् । देशभरबाट छानिएका सयौ डान्सर भाईबहिनीहरुबाट पनि अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शोले छानिसकेको छ । अबको हप्ताबाट उनीहरुबीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपरडान्सर नेपाल प्राप्त गर्नेछ । कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युब , मार्फत् शो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भईरहेको छ ।  


प्रतिक्रिया