नेपथ्यले शनिबार बुटवलमा सांगीतिक प्रस्तुति दिने

पुस ५, २०७९ | तिलोत्तमा

चर्चित नेपाली ब्याण्ड नेपथ्यले रुपन्देहीको बुटवलमा सांगीतिक प्रस्तुति दिने भएको छ । ‘मानवताका लागि संगीत’ नारासहित सांगीतिक यात्रा लिएर हिँडेको नेपथ्यले शनिबार बुटवलमा आफ्नो प्रस्तुति दिने भएको हो । 

मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्यसँगको सहकार्यमा यही पुष ९ गते शनिबार बुटवल–१२ रामनगरमा गर्ने कार्यक्रमको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन जानकारी दिएको हो । मानव सेवा आश्रमको अक्षयकोष निमार्णको लागि नेपथ्यले देशव्यापी सांगीतिक यात्रा थालेको हो । 

रामनगर फुटबल मैदानमा ६ हजार टिकट बिक्री गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । ब्याण्डका गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरी ७० जनाको टोली बुटवलमा सांगीतिक प्रस्तुति दिने भएको हो । 

सडक आश्रित मानवको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । 

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निमार्ण गर्ने संकल्पसहित लुम्बिनी प्रदेशको ३ जिल्ला रुपन्देही, दाङको तुलसीपुर र बाँकेको नेपालगञ्जमा आश्रम सञ्चालनमा रहेको छ । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित दिनेछन् ।


प्रतिक्रिया