पानी माग्दै भ्यागुताको विवाह

जेष्ठ २३, २०८० | सिन्धुली

लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्ने जनविश्वासले सिन्धुलीको दुधौली नगरपालिका ४ डकाहामा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन् । आकासबाट पानीको वर्षाको होस भनेर स्थानीयले कमलानदीको किनारमा जोडी भ्यागुता खोजेर वैदिक परम्परा अनुसार विवाह गराएका हुन् । इन्द्र भगवानलाई पुजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीय स्थानेश्वर काफ्लेले बताउनुभयो । विवाह विधी सम्पन्न भएपछि जोडी कुमार केटाले भ्यागुताका नवजोडीलाइ वगरबाट डोलीमा बोकेर कमला खोलामा बगिरहेको पानी लगि छोडिदिएका थिए ।

भ्यागुताको जोडीलाइ सिंगारपटार गरी डोलीमा चढाई ब्राह्मणहरुले वैदिकमन्त्र पाठ तथा रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह सम्पन्न भएको छ । घ्यू, चामल, जौ, तिलको होमहोमादी गरे वातावरण प्रदुषण कम भई पानी पर्ने मान्यता रहेको अर्का स्थानीय प्रेमप्रसाद भट्टराइले बताउनुभयो । भ्यागुुताको विवाहमा ब्रामहणसहित ३० जना जन्ती उपस्थित थिए । जन्तीले हलुवा र आलुको तरकारी विवाह भोजका रुपमा खाएका थिए । भोजभतेर बाहेक विवाह सम्पन्न गराउन एकहजार दुईसय रुपैयाँ खर्च भएको छ ।


प्रतिक्रिया