किशोरीको संघर्षको कथा डिस्कभरी च्यानलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २५, २०८० | काठमाडौं

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अन्तराष्ट्रिय गैरसरकारी संस्था रुम टु रिड र वार्नर ब्रोको सहकार्यमा सी क्रिएट्स चेन्ज नाम फिल्म सिरिज डिस्कभरी च्यानलबाट प्रसारण हुने भएको छ । दुई वटा संस्थाको सहकार्यमा निर्माण भएको समाज परिवर्तन सम्भव बनाउने किशोरीहरूको कथा प्रसारण गर्न लागिएको हो । रुम टु रिडका अनुसार सो फिल्म सिरिजमा नेपाल, बंगलादेश, भारत, श्रीलंका, तान्जनिया र भियतनामका ६ जना किशोरीका संघर्ष र परिवर्तनका जीवन बदल्ने कथा समेटिएको छ । सो फिल्मले ट्रिवेका फेस्टिवल, म्यानचेस्टर एनिमेसन फेस्टिवल, लन्डन सर्ट फिल्म फेस्टिवल लगायत अवार्ड जितिसकेको छ ।

सी क्रिएट्स चेन्जले किशोरीहरूलाई सशक्तिकरण गर्दै उनीहरूको लक्ष्य निर्धारणमा सघाउन र आफ्नो अधिकारको लागि उठ्न प्रेरित गर्ने रुम टु रिड नेपालका राष्ट्रिय निर्देशक पुष्करलाल श्रेष्ठले बताउनुभयो । रुम टु रिडका प्रमुख कार्यकारी अधिकृत डा. गीता मुरलीले सो फिल्म सिरिजले विश्वका ४३ करोड २० लाख किशोरीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । डिस्कभरी च्यानलबाट सो सिरिज एसियाका लागि आज साँझ सवा ५ बजे प्रसारण हुँदैछ ।


प्रतिक्रिया