लोकार्नो फिल्म फेस्टिभलमा नेपाली कलाकार थिन्ले उत्कृष्ट अभिनेत्री

तस्बिर :‘साम्बाला’को फेसबुकबाट 

भाद्र १, २०८१ | काठमाडौं

काठमाडौं ।

मीनबहादुर भामद्धारा निर्देशित नेपाली फिल्म साम्बालामा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी कलाकार थिन्ले ल्हामोले स्वीट्जरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित “बोक्कालिनो डिओर” अवार्ड जितेकी छन् । फिल्म टीमले जारी गरेको विज्ञप्तिमा भनिएको छ–“साम्बाला फिल्मको मुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्वित भएका छौं । दक्षिण एसियाली कलाकारले पहिलो पटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेका हुन् ।”

फिल्मका निर्देशक भामले भने–“ यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण हो । साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं ।”

यो सफलता नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र उर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको उनले बताए । 

‘साम्बाला’ मा थिन्लेले बहुपति प्रथाअनुसार विवाह गरेकी एक डोल्पाली महिला पेमाको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा हिमाली क्षेत्रको संघर्षपूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि पेमाले गरेको जोखिमयुक्त यात्रालाई थिन्लेले अभिनय मार्फत जीवन्त पारेकी छन् । निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर तयार गरेको फिल्मको पटकथा लेखेका हुन् भने यसमा संगीत न्ह्यु बज्राचार्यको रहेको छ ।

निर्देशन भामकै सर्टफिल्म ‘बासुल्ली’ यसअघि भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली फिल्म बनेको थियो । उनैद्वारा निर्देशित फिल्म ‘कालोपोथी’ ले भेनिस क्रिटिक्स विकमा ‘फेडेरा बेस्ट फिल्म अवार्ड’ जितेको थियो । 


प्रतिक्रिया