मध्यपूर्वमा शान्ति स्थापनाका लागि ट्रम्पले गरेको प्रस्ताव अस्वीकार

माघ १५, २०७६ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मध्य पूर्वमा शान्ति स्थापनाका लागि भन्दै पेश गर्नुभएको प्रस्तावलाई प्यालेस्टाइनले षड्यन्त्रको संज्ञा दिंदै अस्वीकार गरेको छ । 

सो प्रस्तावको विरोधमा ठूलो संख्यामा प्यालेस्टिनीहरु गाजा क्षेत्रमा प्रदर्शनमा उत्रिएका छन् । 

बहुप्रतिक्षित मानिएको सो प्रस्तावमा इजरेल र प्यालेष्टाइनले दाबी गर्ने जेरुसेलमलाई इजरेलकै अविभाज्य राजधानीकै रुपमा कायम गर्ने उल्लेख छ । तर, पूर्वी जेरुसेलमको केही भू–भाग भने प्यालेस्टाइनको राजधानीका रुपमा रहने जनाइएको छ । 

स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बसोबासमाथि इजरेलको सार्वभौमिकता पनि प्रस्ताव गरिएको छ । 

प्यालेष्टाइनका राष्ट्रपति महमुद अब्बासले जेरुसेलम र आफ्ना सबै अधिकार बिक्री र मोलमोलाईका लागि नराखिएको टिप्पणी गर्नुभएको छ । 

इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने ह्वाइट हाउसको प्रस्ताव शान्ति स्थापनाका लागि अन्तिम प्रयास भएको बताउनुभएको छ । 

यसैबीच, नेतन्याहुले वेस्ट बैंक क्षेत्रको थप ३० प्रशिशत भू–भाग आफ्नो मुलुकमा गाभ्ने तयारी गर्नुभएको छ । 

आगामी आइतबार मन्त्रिपरिषद्बाट सो योजना पारित गरी वेस्ट बैंकको ३० प्रतिशत भू–भाग आफ्नो मुलुकमा गाभ्न लाग्नुभएको प्रतिवेदनहरु सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया