दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित आजै दोब्बरले बढे

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७६ | एजेन्सी

– चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अन्य मूलुकमा देखिने क्रम बढ्दो छ । दक्षिण कोरियामा आज एकै दिन २ सय २९ जनामा कोभिड १९ नामको कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै कोरियामा संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । संक्रमित मध्ये २ जनाले ज्यान गुमाइसकेका छन् । दक्षिण कोरियाका उप स्वास्थ्य मन्त्री किम ग्याङ लिप ले भाइरसको संक्रमणले गम्भिर रुप लिएको बताउनुभएको छ । 

अस्पताल तथा दक्षिण पूर्वी शहरमा धार्मिक समुदायबाट भारइसको संक्रमण फैलिएको बीबीसीले जनाएको छ । सो संक्रमणबाट आज एकजनाको मृत्यु भएसंगै इरानमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दुर प्रयास गरिरहेको बताउनु भएको छ । यता, चीनमा हालसम्म ७६ हजार २ सय ८८ जनामा संक्रमित भइसकेका छन् । जसमध्ये २ हजार ३ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् । निगरानीमा राखिएको जापानी पानीजहाज भित्र ६ जनामा संक्रमण देखिएको थियो ।

 यस्तै, विश्वका २६ मुलुकमा फैलिएको कारोना भाइरस अझै नियन्त्रणमा नआएको प्रति विश्व स्वास्थ्य संगठन डब्लु एच ओले चासो देखाएको छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख रहेको बताउँदै आएपनि विश्वका अन्य मुलुकमा यसको फैलने क्रम बढेको भन्दै डब्लु एच ओले चासो देखाएको हो । हाल सम्म चीन बाहिर मात्र सो भाइरसको संक्रमणबाट ८ जनाको ज्यान गइसकेको डब्लु एच ओले जनाएको छ । 


प्रतिक्रिया