भारतमा कोरोना संक्रमित सत्र नेपालीमध्ये १३ जना निको

वैशाख १८, २०७७ | नयाँ दिल्ली

भारतमा कोभिड–१९ बाट संक्रमित सत्र नेपालीमध्ये १३ जना उपचार पछि निको भएका छन् । भारतमा १७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमितमध्ये ११ जना रोजगारीका लागि भारतमा बस्दै आएका थिए भने पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए । 

संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका थिए । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । परिवारका बाँकी तीन सदस्यलाई भने संक्रमणले छोएको थिएन । 

संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो । त्यसैगरी दक्षिण भारतको बैंग्लुरुमा संक्रमित चार जना नेपालीहरु पनि उपचार पछि घर ठिक भइसकेका छन् । 

बैंग्लुरुमा पहिले एउटै परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसके पछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । तर, ती छोरा पनि संक्रमणबाट मुक्त भइसकेका छन् । त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड–१९ को संक्रमण देखिएको थियो । 

उनी पनि उपचार पछि सन्चो भइसकेका छन् । सुदूरपश्चिम बझागंको चैनपुरका स्थायी घर भएको यो परिवार पनि कामकै सिलसिलामा भारतमा बस्दै आएको थियो । सबैभन्दा पहिले ती बालककी आमामा संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।

उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती नेपाली महिला र उनका श्रीमान पनि कोभिड–१९ देखिएको थियो ।

यसबाहेक केही महिना अघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो जसमध्ये एक जना उपचार पछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ । संक्रमित नेपालीमध्ये हरियाणाको अम्बालामा रहेका उपचार पछि ठिक भइसकेका छन् । उत्तरप्रदेश (युपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको उपचार चलिरहेको छ । उपचार चलिरहेकाहरुको अवस्था पनि सामान्य रहेको छ । 


प्रतिक्रिया