ल्याटिन अमेरिकी मूलुकमा कोरोना संक्रमण तीब्र हुन सक्ने WHO को चेतावनी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १४, २०७७

– केही ल्याटिन अमेरिकी मूलुकमा कोरोना भाइरसको संक्रमण तीब्र हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन WHO ले चेतावनी दिएको छ । ब्राजिल, चिली, पेरु, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवामा पछिल्लो समय कोरोना संक्रमणको दर बढेको भन्दै सावधानी अपनाउन WHO ले आग्रह समेत गरेको अलजजीराले उल्लेख गरेको छ । 

अमेरिकाका लागि विश्व स्वास्थ्य संगठनका निर्देशक करिसा इटिनेले ब्राजिलमा पछिल्लो एक सातामा नयाँ संक्रमितको संख्या उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नु भएको हो । ब्राजिल अहिले पनि कोरोना भाइरसबाट बढी संक्रमित हुने मुलुकको दोश्रो स्थानमा छ । 

जोन्स् हप्किन्स विश्वविद्यालयको तथ्यांकमा अमेरिकापछि ब्राजिलमा बढी संक्रमित छन् । अमेरिकामा १६ लाख ८० हजार ६ सय ८० जना संक्रमित छन् भने ब्राजिलमा ३ लाख ९१ हजार २ सय २२ जना संक्रमित फेला परेका छन् । अमेरिकामा सबैभन्दा धेरै ९८ हजार ९ सय २ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । विश्वमा २२ लाख ८६ हजार ८ सय २७ जना उपचार पछि फर्किएको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ३ लाख ५० हजार प्ुगेको छ । भारतमा संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ भने ४ हजार ३ सय ४९ जनाको मृत्यु भएको विश्वविद्यालयको तथ्याङकमा उल्लेख छ ।


प्रतिक्रिया