एष्ट्राजेनेका र फाइजर खोप मिसाएर लगाएका व्यक्तिहरुमा हल्का र मध्यम खालको असर मात्रै

वैशाख ३०, २०७८ | काठमाडौं

कोरोना भाइरस विरुद्धको एष्ट्राजेनेका र फाइजर खोप मिसाएर लगाएका व्यक्तिहरुमा हल्का र मध्यम खालको असर मात्रै देखिने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । दुई फरक खोप लगाएका व्यक्तिमा चिसो लाग्ने, टाउको र मांसपेशी दुख्नेजस्ता समान्य लक्षण देखिएको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको कमकोभले गरेको अध्ययनले देखाएको हो । 

अक्सफोर्ड भ्याक्सिन समूहका प्रोफेसर म्याथ्यु स्न्यापका अनुसार यो फरक अप्रत्याशित र चाखलाग्दो खोजी गरिएको हो । गत फेब्रुअरीमा गरिएको अध्ययनमा ५० वर्षमाथिका ८ सय ३० स्वयंसेवी सहभागी रहेको बीबीसीले जनाएको छ । अध्ययन अनुसार पहिलो र दोस्रो दुवै डोज एष्ट्राजेनिका खोप लगाउने १० मध्ये एकजनामा ज्वरो आएको थियो, तर, पहिलो एष्ट्राजेनिका र दोस्रो फाइजर लगाउनेमा यो अनुपात बढेर ३४ प्रतिशत पुगेको जनाइएको छ । उनीहरुलाई पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो खोप दिइएको थियो ।

 चिसो, थकान, टाउको र मांसपेशीको दुखाइलगायत लक्षणहरुमा पनि यस्तै समान खालको नतिजा पाइएको प्रोफेसर स्न्यापले बताउनुभयो । दोस्रो पटक यो अध्ययन गत अप्रिलमा एक हजार ५० स्वयंसेवी थप गरेर विस्तार गरिएको थियो । जसमा एष्ट्राजेनेका र फाइजरसहित मेर्डेना र नोभाभ्याक्स खोपलाई मिसाएर अध्ययन गरिएको थियो । अध्ययनको प्रारम्भिक नतिजा मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित छ । तर, यसको विस्तृत विवरण भने आगामी जुन महिनामा मात्र प्रकाशित हुने बीबीसीले जनाएको छ । 


प्रतिक्रिया