तालिबान सरकारमा आन्तरिक विवाद

भाद्र ३०, २०७८ | काठमाडौं

अन्तरिम सरकारको संरचनाका विषयलाई लिएर तालिबान सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर–रहमान हक्कानीबीच ठूलै विवाद भएको हो । 

केही दिनदेखि बरादर सार्वजनिक रूपमा नदेखिएको र उनले काबुल छोडेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानमा नेतृत्वलाई लिएर उत्पन्न व्यापक असहमति सतहमा आएको हो । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद नभएको दाबी गरेको छ । यसका साथै अफगानिस्तानमा तालिबानको जितको श्रेय कसले लिने भन्नेबारेमा शीर्ष नेताबीच होडबाजी चलेको छ । बरादरले आफ्नो कूटनीतिक पहलले जीत हासिल गरेको दाबी गर्दै आएका छन् भने हक्कानी समूहले आफ्नो निरन्तरको युद्धले सफलता प्राप्त गरेको बताउँदै आएको छ । 

 गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन् । 


प्रतिक्रिया