कोरोना संक्रमितको वास्तविक तथ्यांक उपलब्ध गराउन चीनलाई डब्लूएचओको ताकेता

पुस २१, २०७९ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका कोभिड–१९ का संक्रमित र मृत्युको थप भरपर्दो तथ्यांक उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ । 

पश्चिमा मुलुकहरुले एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेपछि पछिल्लो समय चीनले तथ्यांक उपलब्ध गराउनै छोडेको छ । डब्लूएचओले कोभिडको यकिन तथ्यांक उपलब्ध गराउन चीनलाई यसअघि पनि ताकेता गर्दै आएको थियो ।

 डब्लूएचओका प्रमुख गेब्रेयससले भन्नुभयो, हामीले चीनलाई अस्पतालमा भर्ना र मृत्युको थप व्यापक, वास्तविक र भरपर्दो डाटा, जानकारी साझा गर्न आग्रह गरेका छौँ । गत साता, विश्व स्वास्थ्य संगठनले चीनसँग उच्चस्तरीय बैठकमार्फत छलफल समेत गरेको थियो ।

शून्य कोभिडको नीतिलाई खुकुलो पार्दै चीनले यही जनवरी ८ बाट विदेशबाट आफ्नो मुलुकमा आउने यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने लगायत अन्य आन्तरिक प्रतिबन्ध नीतिमा पनि लचकता अपनाएको छ । सो पश्चात, पश्चिमा राष्ट्रसहित अन्य विभिन्न देशले पनि चीनियाँ यात्रुलाई कोरोना परिक्षण अनिवार्य गरेपछि चीन रुष्ट बनेको छ । पछिल्लो प्रतिबन्ध राजनीति प्रेरित भएको र आफूले त्यसको प्रतिवाद गर्ने उसले चेतावनी दिएको छ । 


प्रतिक्रिया