इजरेलको हवाई आक्रमणका कारण लेबननमा १० लाख बढी विस्थापित

आश्विन १४, २०८१ | काठमाडौं

लेबनन्का प्रधानमन्त्री नाजिव मिकातीले इजरेलको निरन्तर हवाई आक्रमणका कारण १० लाख बढी जनता विस्थापित भएको बताउनुभएको छ ।

इजरेली आक्रमणले गर्दा अहिलेसम्मकै ठूलो संख्यामा आफ्ना नागरिक विस्थापित हुन पुगेको प्रधानमन्त्री मिकातीले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

इजरेली हवाई आक्रमणका कारण लेबननको राजधानी बेरुत, दक्षिणी सीमा क्षेत्र लगायत स्थानबाट मानिसहरु अन्यत्र भागेको प्रधानमन्त्री मिकातीको भनाइ छ ।

विस्थापित भएका जनतालाई शिविरमा व्यवस्थापन गर्न तथा उनीहरुको आवश्यकता पूरा गर्न चुनौती खडा भएको त्यहाँका अधिकारीलाई उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै, घाइते हुनेको संख्या बढेका कारण अस्पतालमा समेत चुस्त सेवा प्रदान गर्न नसकिएको बीबीसीले जनाएको छ । यसैबीच, हिजोको आक्रमणमा ५० जना मारिएको लेवनन्को स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । 

हिजबुल्लाहका नेता हसन नसराल्लाहको हत्याको २ दिनपछि इजरेलले सो आक्रमण गरेको हो । यता हिजबुल्लाहले जवाफी कारवाही स्वरुप इजरेलको उत्तरी क्षेत्रमा रकेट प्रहार गरेको छ ।


प्रतिक्रिया