दक्षिण कोरियाली राष्ट्रपति युनमाथि यात्रा प्रतिबन्ध

मंसिर २४, २०८१

दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योललाई यात्रा प्रतिबन्ध लगाएका छन् । गत मंगलबार अल्पकालीन मार्शल ल घोषणा गरेका राष्ट्रपति युनमाथि सत्तारुढ पीपुल पावर पार्टी पीपीपीका सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बच्नु भएको थियो । पीपीपी सदस्यहरूले युनले आफ्नो कार्यकाल छोटो बनाउन र विदेश र आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताएका छन् ।

यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ । युनको अल्पकालीन मार्शल ल घोषणापछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति युनलाई राजीनामा गर्न वा महाभियोग लगाउन आह्वान गर्दै आएका छन् । युनलाई मार्शल ल घोषणा प्रस्ताव गर्ने पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई पक्राउ गरिएको थियो । किमले माफी मागेर पूर्ण जिम्मेवारी लिने बताएपछि राजीनामा दिएका थिए ।

पीपीपी नेता हान डोङ–हुनले युनको प्रारम्भिक राजीनामा नभएसम्म विदेश र घरेलु मामिलामा संलग्न नहुने बताउनु भएको छ । 


प्रतिक्रिया