अमेरिका सिरियाली विद्रोही समूहसँग प्रत्यक्ष सम्पर्कमा छ : एन्टोनी ब्लिन्केन
मंसिर ३०, २०८१ | काठमाडौं
अमेरिकाले सिरियामा बसर अल असदको सरकारलाई पतन गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलो पटक स्वीकार गरेको छ । अमेरिका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एचटीसीसँग अमेरिकाको सीधा सम्पर्क रहेको बताउनु भएको हो ।
मध्यपूर्वको भ्रमणका क्रममा जोर्डनको दक्षिणी शहर अकाबामा सिरियामा अरब सम्पर्क समूहका विदेश मन्त्रीहरुसँगको बैठकपछि पत्रकारसँग ब्लिन्केनले आफूहरु एचटीएस र अन्यसँग सम्पर्कमा रहेको बताउनु भएको बीबीसीले जनाएको छ ।
विद्रोही समूह एचटीसीलाई अझै पनि अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको छ । ब्लिन्केन सहित अरब देश, टर्की र युरोपका विदेशमन्त्री र प्रतिनिधिले सिरियामा शान्तिपूर्ण संक्रमणकाललाई सघाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरुले सिरिया अराजकतामा फसेको हेर्न नचाहेको बताउनुभयो । हालै मात्र सिरियामा एचटीएस नेतृत्वको विद्रोही समूहले बसर अल–असदको सरकारलाई हटाएका छन् ।
एचटीएसले सत्ता कब्जागरेपछि बसर अल–असद देशबाट भागेर रुसको शरणमा पुगेका छन् । टर्कीका विदेशमन्त्री हकान फिदानले सिरियाका विद्यमान संस्थालाई संरक्षण र सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
फिदानले आतंकवादलाई संक्रमणकालको फाइदा उठाउने अनुमति दिन नहुने र विगतका गल्तीबाट पाठ सिक्दै सबैले समन्वय गर्नु पर्नेमा जोड दिएको रोयटर्सले जनाएको छ ।
जोर्डनमा भएको वार्तामा सिरियाका प्रतिनिधि भने सहभागी थिएनन् । बैठकमा सहभागी आठ देशका विदेशमन्त्रीले सिरियालाई एकताबद्ध र साम्प्रदायिक आधारमा विभाजित नगर्ने विषय सुनिश्चित गर्न चाहेको बताएका छन् । यसैबीच, क्षेत्रीय निन्दाको बाबजुद पनि इजरायलले सिरियाविरुद्ध दर्जनौं हवाई आक्रमण गरेको एक युद्ध अनुगमनकर्ताले जनाएको छ ।