काठमाडौंका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि
पुस १, २०८१ | काठमाडौं
काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ ।
काठमाडौंको डल्लुनजिकै कङ्केश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाउनुभएको थियो । पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज विहान निधन भएको हो ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष शल्यक्रिया गरिएको थियो । विसं १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको थियो ।
उहाँकै कार्यकालमा २०५२ मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिकाका रुपमा घोषणा गरिएको हो । महानगरले स्वर्गीय सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यक बाहेक सेवा बन्द गरी शोक बिदा दिएको थियो ।