अमेरिकी शेयर बजारमा भारी गिरावट

चैत्र २३, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर सम्बन्धी नयाँ नीतिप्रति रुष्ट चीनले अमेरिकी सामानमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजार प्रभावित भएको छ । शुक्रबार अमेरिकाको सेयर बजार ५ प्रतिशत भन्दा बढीले गिरावट आएको बीबीसीले जनाएको छ । पछिल्लो गिरावट अमेरिकी शेयर बजारका लागि सन् २०२० पछिको सबैभन्दा खराब अवस्था हो । चीनले अमेरिकी कर वृद्धिको प्रतिक्रिया स्वरुप अमेरिकी सामानमा ३४ प्रतिशतसम्म कर घोषणा गरेसँगै विस्तारित व्यापार युद्ध र विश्वव्यापी अर्थतन्त्रमा नोक्सान हुने सम्भावना बढ्दै गएको विश्लेषण भएका छन् ।
चीनको पछिल्लो कदमको असर बेलायतमा पनि परेको छ । बेलायतको शेयर बजारमा पनि ५ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट देखिएको छ । यस्तै जर्मनी र फ्रान्सको पनि शेयर बजारमा गिरावट आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पले हरेक मुलुकका सामानमा न्यूनतम १० प्रतिशत नयाँ आयात कर लगाउने घोषणा गरेपछि विश्व स्टक बजारले चीन, युरोपेली संघ र भियतनाम जस्ता प्रमुख व्यापारिक साझेदारहरू लगायत दर्जनौं देशका उत्पादनहरुमा घाटा लागेको छ । सन् १९६८ पछि अमेरिकामा उच्च दरमा कर बृद्धि भएको थिएन ।