राष्ट्रपति ट्रम्प र मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन

चैत्र २४, २०८१ | अमेरिका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र डचका प्रमुख इलोन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेश र डचको उपयोग गरेर मस्कले व्यक्तिगत डाटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकी नागरिकहरुले विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा उत्रिएका मध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षर समेत गरेका थिए ।
नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सीएनएनले जनाएको छ । ५० वटै राज्यहरुको एक हजार २ सय भन्दा बढी स्थानहरुमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए ।
प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका थिए ।
दुई अर्बपतिले राज्यको शक्ति कब्जा गरेको भन्दै त्यसको अन्त्यका लागि ‘ह्याण्डस् अफ’ नारासहित ५० वटै राज्यका राजधानी, संघीय भवनहरु, कंग्रेसका कार्यालयहरु, सामाजिक सुरक्षाको मुख्यालय, पार्कहरु र सहरका मुख्य स्थानहरुमा विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले ट्रम्प र मस्कको कार्यशैलीको विरोध गर्दै तीनवटा मुख्य मागसहित विरोध प्रदर्शन गरेको सीएनएनले जनाएको छ ।
अर्बपतिहरुको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग राख्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । राजधानी वासिङ्टन डीसीको नेशनल मलमा प्रदर्शनकारीहरुले ‘हे हो, ट्रम्पस् गोट गो’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘ प्रोटेक्ट ओउर कन्स्टिच्युशन’ र ‘ह्यान्ड अफ ओउर राइट्स’ लेखिएको साइनबोर्डहरु बोकेका थिए ।
राजधानी वासिङ्टन डीसीमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका मेरिल्याण्डका डेमोक्र्याटिक सांसद जेमी रस्किनले मुसोलिनीको राजनीति र हर्बर्ट हुभरको अर्थशास्त्र भएका राष्ट्रपतिको कुनै भविष्य नभएको बताउनुभयो । वासिङ्टन स्मारकमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै सांसद रस्किनले भन्नुभयो, ‘कुनै पनि नैतिक व्यक्ति अर्थ व्यवस्थामा ध्वस्त हुने तानाशाह बन्न चाहँदैन, तर अहिलेको ट्रम्प प्रशासनले मुलुकको अर्थव्यवस्था नै संकट पर्ने र जनता मारमा पर्ने काम गरिरहेको छ । यसको विरुद्धमा हामी जुट्न आवश्यक छ ।’
वासिङ्टन प्रदर्शनकै क्रममा मिनेसोटा डेमोक्रेटिक प्रतिनिधि इल्हान ओमारले यदी अमेरिकामा सबैको भविष्य सुरक्षित हुने हो भने, हामी हाम्रा छिमेकीहरु, गरिब, हाम्रा बच्चाहरुको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन योजना ट्रम्प प्रशासनले अघि बढाउन आवश्यक भएको बताउनुभयो । फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले विरोध र प्रदर्शनलाई सहज रुपमा नलिन ट्रम्पलाई आग्रह गर्नुभयो ।
‘मानव इतिहासमा, अधिनायकवादीहरु आफूसँग भएको शक्तिबाट कहिल्यै सन्तुष्ट हुँदैनन् र उनीहरुले सीमाको परीक्षण गर्छन्, उनीहरुले कानुन तोड्छन्, र त्यसपछि उनीहरुले जनतालाई हेर्छन् कि उनीहरु शान्त छन् वा उनीहरु चर्को छन् कि छैनन्,’ फ्रस्टले भन्नुभयो, ‘त्यसकारण ट्रम्पको ध्यान खिच्न पनि बिरोध आवश्यक छ ।’
प्रदर्शनको आयोजकमध्ये एक नेशनल फेडरेशन अफ फेडरल इम्प्लोइजका अध्यक्ष रेन्डी इरविनले बिना गल्ती, बिना कारण हजारौं संघीय कर्मचारीलाई बर्खास्त गर्नु एक क्रुर मजाक भएको बताउनुभयो । उहाँले वर्षौंदेखि सरकारी सेवामा रहेकालाई बिनाकारण बर्खास्त गर्नुले उनीहरुको परिवारमाथि अपराध गरेको आरोप लगाउनुभयो ।
एएफजीईका अध्यक्ष एवरेट केलीले प्रदर्शनका क्रममा भन्नुभयो, ‘म सेनाको भूतपूर्व सैनिक हुँ । हामी चुप लाग्ने छैनौं । हामी झुक्ने छैनौं । हामी खडा हुनेछौं र हामी निरन्तर विरोध गरिरहने छौं ।’ सीएनएनले मार्च २८ मा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म एक लाख २१ हजार ३ सय ६१ कामदारलाई संघीय निकायबाट निकालिएको छ ।