ट्रम्पले किभका लागि हतियार र गोला बारुद आपूर्ति जारी राखेको क्रेमलिनको आरोप

असार ३०, २०८२
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किभका लागि हतियार र गोला बारुद आपूर्ति जारी राखेको क्रेमलिनले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स मिसाइल आपूर्ति गर्ने घोषणा गरेसँगै क्रेमलिनको प्रतिक्रिया सार्वजनिक भएको हो ।
ट्रम्पले युक्रेनमा प्याट्रियट पठाउने योजना बनाएको अभिव्यक्तिले अमेरिकाबाट हतियार, गोला बारुद र सैन्य उपकरणहरूको आपूर्ति जारी रहेको तथ्य पुष्टि भएको भन्दै रुसको प्रतिक्रिया आएको बीबीसीले जनाएको छ । ट्रम्पको पछिल्लो कदमले रूस र युक्रेनबीचको युद्धविरामको प्रयासका बाबजुद रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बढ्दो असन्तुष्टिलाई चित्रित गरेको समेत विश्लेषण भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीव्र मिसाइल र ड्रोन आक्रमणलाई रोक्न थप रक्षात्मक क्षमता सहयोग गर्न अपिल गर्नुभएको थियो ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेनमा पठाउने प्याट्रियटको लागत युरोपेली संघले परिपूर्ति गर्ने पनि बताउनु भएको छ । ट्रम्पले यसै साता युक्रेनका अन्य मुद्दाहरू बीच छलफल गर्न नेटोका महासचिव मार्क रुटलाई पनि भेट्ने बताइएको छ । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रक्षा सचिव पिट हेगसेथसँग वार्ताको लागि वाशिंगटनको भ्रमण गर्ने तयारीमा रहेको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।