फ्रान्सका प्रधानमन्त्रीद्वारा राजिनामा

आश्विन २०, २०८२ | काठमाडौं
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आफ्नै मन्त्रीमण्डल सार्वजनिक गरेको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्रीको रुपमा अघि बढ्नका लागि आवश्यक शर्त पूरा हुन नसकेको भन्दै प्रधानमन्त्री लेकोर्नुले राजिनामा दिनुभएको हो । राजनीतिक दलहरुबीच सहमति खोज्ने इच्छाशक्ति नदेखिएपछि आफूले राजिनामा दिएको प्रधानमन्त्री लेकोर्नुले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
राजीनामा दिएको केही समयपछि राष्ट्रपति एम्यानुएल म्याक्रोसँग करिब एक घण्टा लामो भेटवार्तापछि राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्रीबाट राजिनामा आएको घोषणा गरिएको बीबीसीले जनाएको छ । झण्डै एक महिना अघि प्रधानमन्त्रीका रुपमा नियुक्त भएका लेकोर्नुले पदबाट राजिनामा दिएसँगै थप राजनीतिक संकट चुलिएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री लेकुर्नुको मन्त्रीमण्डलका सदस्य यसअघिको सरकारका जस्तै भएको भन्दै फ्रान्सका प्रमुख दलहरुले आलोचना गर्दै विश्वासको मत असफल गराउने चेतावनी दिएपछि राजिनामा आएको हो ।
यसैबीच, विभिन्न राजनीतिक दलहरुले छिटो चुनावको माग गरेका छन् भने कतिपयले राष्ट्रपति म्याक्रोलाई समेत राजिनामा दिन दबाब दिइरहेको बताइएको छ । यद्यपि म्याक्रोले आफू २०२७ सम्म पदमा रहने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।