रुससंग वार्ताका लागि जेलेन्स्की टर्की जांदै
मंसिर ३, २०८२
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँगको युद्ध अन्त्य गर्ने विषयमा रुससँग वार्ता पुनः सुरु गर्ने प्रयासमा आज टर्की जाने हुनु भएको छ । स्पेनको भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्र्ता पुनर्जीवित गर्ने तयारीमा रहेको बताउनुभएको हो । त्यसको लागि समाधानहरू विकास गरेको र ती योजनाआफ्ना साझेदार मुलुकलाई प्रस्ताव गर्ने उहाँको भनाइ छ । युद्ध अन्त्य गर्न सम्भव भएसम्म सबै विषयमा छलफल गर्नु युक्रेनको सर्वोच्च प्राथमिकता रहेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । गत जुलाईमा इस्तानबुलमा भएको भेटपछि किभ र मस्कोबीच आमनेसामने वार्ता भएको छैन । यसअघि अमेरिकी विशेष दूत स्टीव विटकोफ पनि आज टर्कीको भ्रमण गर्ने र त्यहाँ जेलेन्स्कीसँग योजनाबद्ध वार्तामा सामेल हुने जानकारी दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।











