अमेरिकाले इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाएको छ
चैत्र ११, २०८२ | काठमाडौं
दुइ देशबीच जारी तनाबकाबीच अमेरिकाले इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पठाएको छ । अमेरिकाले पाकिस्तानको मध्यस्थतामा सो प्रस्ताव इरानसमक्ष पु¥याइएको बताइएको छ ।
सार्वजनिक नगरिएको सो प्रस्तावमा इरानले आफ्ना परमाणु संरचना विघटन गर्ने र त्यसको बदलामा अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने विषय समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाले अघि सारेका योजना इरानले स्वीकार गर्ने सम्भावना कम रहेको बीबीसीले जनाएको छ । यसैबीच इरानको सेनाले भने अमेरिकाले प्रस्ताव गरेको योजनामा सहमति नहुने जनाएको समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्पले हिजोमात्रै इरानसँग सम्झौता गर्न इच्छुक रहेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघमा इरानको स्थायी नियोगले युद्धसँग नजोडिएका देशका जहाजलाई हर्मुज जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको जनाएको छ ।










