पद्मश्री साहित्य पुरस्कार समालोचक सुवेदीको उपन्यास ’मनु’लाई

आश्विन ८, २०८० | काठमाडौंं

खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ’मनु’लाई दिने भएको छ । 

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै २०७९ सालको पद्मश्री साहित्य पुरस्कार उपन्यास ’मनु’ लाई दिने निर्णय भएको जानकारी दिनु भएको हो । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । 

मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भइ उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा उपन्यासमा चित्रण गरिएको प्रतिष्ठानले जनाएको छ । प्राप्त १८० पुस्तक मध्येबाट छनोट प्रक्रियाको पहिलो चरणमा पन्ध्र र दोस्रो चरणमा पाँच पुस्तक सार्वजनिक गरेको प्रतिष्ठानले सुवेदीको उपन्यासलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

यसैगरी प्रतिष्ठानले पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराललाई प्रदाना गर्ने निर्णय गरेको छ । बरालले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यंग्यका माध्यमबाट नवीन दिशा दिएको प्रतिष्ठानले जनाएको छ ।

गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिने निर्णय गरिएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशि तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने प्रतिष्ठनले जनाएको छ ।


प्रतिक्रिया