गायक अरुण थापाको सम्झनाः जीवन जस्तै विरहका थुप्रै भाका

श्रावण ८, २०८१ | काठमाडौं


नेपाली गीतसंगीत क्षेत्रका एक अब्बल गायक हुन्–अरुण थापा । उनै अरुण थापाको जादूमयी गलाले नेपाली संगीतलाई मार्मिक र विरह तीन दर्जन भन्दा बढी गीत छाडेर गएको साढे दुई दशक भइसकेको छ, अर्थात् उनको निधन भएको यसै साता (साउन ५ गते) २५ बर्ष पुरा भएको छ । र, पनि उनका गीत अजर–अमर बनेका छन् ।

अरुण थापाले गाएको ऋतृहरुमा तिमी......बोलको गीत बीबीसीको सर्वेक्षणमा कुनै समय विश्वकै लोकप्रिय गीतको सूचिमा परेको थियो । यी र यस्तै मार्मिक गीत गाएका गायक अरुण थापाले बाल्यकाल बाहेकको जीवन पीडा, विरह र दुःखमा नै बिताएका थिए । विक्रम सम्वत् २००९ साल माघ ११ गते कोलकातामा पिता गुञ्जप्रसाद थापा र माता शान्ति थापाको कोखबाट जन्मिएका अरुण थापाबो बाल्यकाल सुख–सयलमै बितेको थियो । उनी स्कुले जीवनमै पढाइमा भन्दा गीत सांगीतिक कर्ममा बढी रुचि राख्थे । समय क्रममा उनले काठमाडौंको जेपी हाइस्कुलबाटै २०२८ सालमा १९ वर्षको उमेरमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । बाबुको जागिरको सिलसिलामा पोखरा पुगेका अरुण थापाले पृथ्वीनारायण क्याम्पसबाट उच्च शिक्षा शुरु गरिसकेका थिए । त्यति बेलामा उनमा गीत संगीतप्रतिको झुकाव निकै बढिसकेको थियो । केही बर्षपछि २०३२ सालमा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । पहिलो रेकर्डेड गीतले खासै चर्चा नपाएपनि अरुण थापाको सांगीतिक जीवनमा जति माया लाए पनि, जति कसम खाए पनि..बोलको गीतले नयाँ मोड दिएको मानिन्छ ।

भारतको दार्जिलिङ, ललितपुरको झम्सिखेल हुँदै पोखरा र काठमाडौंमा जीवन व्यतित गरेका गायक अरुण थापाको पोखरा बसाई भने अलिक फरक रह्यो । किनभने त्यहाँ सरुभक्त, नवराज कार्की, विनोद गौचन, सरोज गोपाल बज्राचार्यजस्ता साहित्यिक व्यक्तित्वसँग उनी जोडिएका थिए । माया प्रेम र विरहका शव्दलाई गीती भाकामा उतारेका गायक अरुण थापाको पारिवारिक जीवन चाहि निकै दुःखदायी बन्न पुग्यो ।

पहिलो वैवाहिक जीवनमा बीचमै दरार आएपछि उनले अर्को विवाह गरेका थिए, तर दोस्रो विवाह पनि सुखद रहन सकेन । एक जना छोरी जन्मिएपछि उनकी श्रीमति पनि अलग भइन् । यही दुःखान्तबीच उनी नशामा डुब्न थालिसकेका थिए । अरुण थापालाई लागुऔषध र मदिरा सेवनको कुलतले नराम्ररी फसायो । उनी २०४५ सालमा लागुऔषध सेवन गरेको आरोपमा एक बर्ष भन्दा बढी समय जेल समेत परेका थिए । जेलबाट बाहिरिएपछि उनी गीतसंगीतमा तल्लीन त थिए तर कुलत भने छाड्न सकेन । संगीत क्षेत्रका जानकारहरुका अनुसार नशामा लिप्त हुँदा अरुण थापा २०५३ सालको भदौमा आफ्नो पहिलो एल्बमको विमोचन कार्यक्रममा समेत सहभागी हुन सकेनन् । अद्भूत स्वरका धनी उनै गायक अरुण थापाको ४७ बर्षको उमेरमा निधन हुन पुग्यो । २०५६ साउन ५ गते काठमाडौंको बागबजारस्थित एक गेष्ट हाउसमा उनले देहत्याग गरेका थिए ।

अजम्बरी गायक अरुण थापाका सागीतिक कोशेलीहरु आजका दिनपनि आधुनिक र पप गीत संगीत रुचाउने पुस्ताको रोजाइमा परिरहेको देखिन्छ । गीत संगीतका तिनै अग्लो स्तम्भ अर्थात् अरुण थापालाई सम्झाउने एउटा भौतिक स्तम्भ ललितपुरको झम्सिखेलमा उनै नाममा खोलिएको अरुण थापाचोकमा अवस्थित सालिक ठडिएको छ । 


प्रतिक्रिया