सी.के रसाईलीलाई ‘सलाम ज्यूँदो इतिहासलाई’ कार्यक्रममार्फत् सम्मान

मंसिर २९, २०८१ | काठमाडौं

वरिष्ठ संगीतकार एवं गायक सी.के रसाईलीलाई रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममार्फत् शनिबार सम्मान गरेको छ । संगीत सिर्जनामा अनवरत ६ दशकभन्दा बढी सक्रिय रसाईलीलाई कान्तिपुर परिसरमा आयोजित विशेष कार्यक्रममा कान्तिपुर टिभी र रेडियोका चिफ मार्केटिङ अफिसर सुजन कार्कीले सम्मान गरेका हुन् । २० दशकमा नेपाली साँगीतिक क्षेत्रमा उदाएका ८४ वर्षिय रसाईलीका ७ सय हाराहारीमा गीत रेकर्ड छन् । नारायण गोपाल, गोपाल योञ्जन देखि उदितनारायण झा र पछिल्लो छिमलका सुरजकुमार थापासम्मका गायकसँग रसाईलीले सहकार्य गर्नु भएको छ । पहिले आफैं गायनमा सक्रिय रसाईली पछि संगीत सिर्जनामै रमाए ।

रेडियोसँग आफ्नो छुट्टै नाता रहेको भन्दै रसाईलीले जीवित छँदै सम्मान गर्ने परम्परा कान्तिपुरले थालनी गरेकोमा खुसी व्यक्त गरे । सिलोङमा छँदा अल ईण्डिया रेडियोबाट गायन थालेका उनलाई संगीतकार नातिकाजीले नेपालमा गीत गाउनु अघि भ्वाईस टेस्ट समेत नलिई स्टुडियो छिराएको प्रसङ्ग पनि चर्चित छ । सम्मान कार्यक्रमले आपूmलाई ऊर्जा मिलेको र समयले साथ दिएमा नयाँ कलाकारसँग काम गर्ने सोच पलाएको उनले सुनाए ।

कार्यक्रममा गायक भूगोल दाहालले रसाईलीका कहिलेकाहीं म हाँस्छु र कसरी म भूलें बोलको गीत सुनाएका थिए । त्यस्तै सुरजकुमार थापाले पूmलको माला पहिराई दिए र दुखेको दिल भने गायिका लसता जोशीले तिमीलाई सोधी खोजी हिंड्दा बोलको गीत प्रस्तुत गरे । नयाँ कलाकारहरुले आफ्नो गीतलाई न्याय गरेको भन्दै रसाईलीले उनीहरुलाई धन्यवाद पनि दिए ।

रेडियो कान्तिपुरले अघिल्लो महिना सलाम ज्यूँदो इतिहासलाई अन्तर्गत वरिष्ठ पप गायक सुनील उप्रेतीलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान हुँदै आएको छ । कार्यक्रम कान्तिपुर म्याक्स एच.डी र रेडियो कान्तिपुरबाट प्रत्यक्ष प्रसारण भएको थियो । 


प्रतिक्रिया