रेडियो कान्तिपुरको “सलाम ज्यूँदो इतिहासलाई” बाट बुलु मुकारुङ सम्मानित
पुस २७, २०८१ | काठमाडौं
वरिष्ठ सङ्गीतकार, गायक एवं संस्कृतिविद् बुलु मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । “सलाम ज्यूँदो इतिहासलाई” श्रृंखलाको नयाँ अङ्कमा शनिबार आयोजित विशेष कार्यक्रममा मुकारुङलाई रेडियो कान्तिपुरले सम्मान गरेको हो ।
रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले मुकारुङजस्ता सङ्गीतज्ञलाई सम्मान गर्न पाउँदा रेडियो आफैंमा गौरवान्वित भएको बताउनुभयो । सम्मान ग्रहणपछि मुकारुङले नयाँ पुस्तालाई पुराना पुस्ताका बारेमा चिनाउने कार्यक्रम राखेको र अझ जीवित छँदै स्रष्टालाई सम्मान गर्ने परम्परा थालेकोमा रेडियो कान्तिपुरलाई धन्यवाद दिनुभयो । यस्तो सम्मानले सर्जकलाई सधैं हौसला र ऊर्जा प्रदान गर्ने भन्दै उहाँले थप सक्रियताका साथ आफ्नो कर्मको निरन्तरतामा लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विसं २०११ सालमा भोजपुरको बुलुम्पामा जन्मिएका मुकारुङले ५ सय भन्दा बढी गीतमा सङ्गीत भर्नुभएको छ । २०३४ सालमा रेडियो नेपालको स्वर परीक्षा दिनुभएको उहाँले २०३८ बाट गीत रेकर्डिङ सुरु गर्नुभएको हो । फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, कुन्ती मोक्तान, तारा देवीदेखि पछिल्लो पुस्ताका विश्व नेपालीसम्मले उहाँको संगीतमा स्वर दिएका छन् । संगीत सिर्जनाबाहेक मुकारुङ कला र संस्कृतिको अन्वेषणमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
उहाँले नेपाली सङ्गीतको अभिलेख नामक पुस्तक १३ वर्ष लगाएर प्रकाशित गर्नुभएको हो । जहाँ ६ हजारभन्दा बढी सर्जकहरुका बारेमा जानकारी समेटिएको छ । त्यस्तै सङ्गीत अनुशीलन र साइनो संस्कृति लगायत उहाँका चर्चित कृतिमा पर्छन् । मुकारुङले बदलिँदो आकाश र शान्तिदिप चलचित्रमा अभिनय समेत गर्नुभएको छ । त्यस्तै रुपमति, भोक र भित्ताहरुजस्ता टेलिसिरियलमा पनि मुकारुङको अभिनय कैद छ ।
रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स टिभीबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा युवा गायक राज सागर, भविन ढुङ्गाना, सरिता शाही र शोभा पाण्डेले मुकारुङका चर्चित गीतहरु इलामे शहर चियाबारी राम्रो, माया तिम्लाई के भन्न मन लाग्छ, मिर्मिरेमा तिमीलाई र जीवन देखि थाकेको मान्छे बोलको गीत प्रस्तुत गरेका थिए ।
रेडियो कान्तिपुरले यसअघि सलाम ज्यूँदो इतिहासलाई श्रृङ्खलामा यो वर्ष पप गायक सुनील उप्रेती र सङ्गीतकार सी.के रसाईलीलाई सम्मान गरिसकेको छ ।